काठमाडौँ, १५ पुस । राजधानी काठमाडौँमा जारी नवौं राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको पुरुष टोली च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको छ ।
सोमबार समूह ‘डी’ मा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हराएर अन्तिम आठको यात्रा तय गरेको हो । आर्मी २५–१९,२५–२१,२५–२१ ले विजयी भयो । पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई हराएको आर्मी लगातार दोस्रो जितपछि समूहको विजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।
यसैगरी हेल्प नेपाल क्लबले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै समूह चरणमै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल हेल्प नेपालले पुरुषतर्फको प्रतिस्पर्धामा आफ्नो बलियो उपस्थितिको संकेत दिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा हेल्प नेपाल क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । खेलभरि सन्तुलित र आक्रामक प्रदर्शन गरेको हेल्प नेपालले मणिमुकुन्दलाई कुनै पनि सेट जित्न नदिई दबाबमा राख्न सफल भयो ।
तीन पाकिस्तानी खेलाडीको समावेशले थप सशक्त बनेको हेल्प नेपाल क्लबले पहिलो सेट २५–१६ अङ्कले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा मणिमुकुन्दले केही सुधारिएको खेल देखाए पनि हेल्प नेपालको संयमित डिफेन्स र प्रभावकारी स्म्यासका कारण २५–१९ अङ्कले पछि प¥यो ।
तेस्रो सेटमा भने प्रतिस्पर्धा केही रोमाञ्चक बनेको थियो। मणिमुकुन्दले बराबरी प्रयास गरे पनि अन्त्यमा हेल्प नेपालले २५–२२ अङ्कसहित खेल आफ्नो पक्षमा पार्दै सोझो सेटमा जित सुनिश्चित ग¥यो।यसअघि समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा पनि हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो । दुई खेलबाट पूर्ण अङ्क जोड्दै हेल्प नेपाल समूह चरणमै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
उक्त जितसँगै हेल्प नेपाल क्लबले उपाधि दाबेदारका रूपमा आफ्नो स्थान अझ मजबुत बनाएको छ । प्रतियोगितामा अनुभवी खेलाडी, विदेशी खेलाडीको प्रभाव र सुदृढ टिम संयोजन हेल्प नेपालको मुख्य बलियो पक्षका रूपमा देखिएको छ ।
यसैबीच, आइतबार सम्पन्न महिलातर्फका दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले खेलको सुरुदेखि नै दबदबा कायम राख्दै सुदूरपश्चिमलाई कुनै अवसर दिन सकेन ।
एपिएफले पहिलो सेट २५–६, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१२ अङ्कले जित्दै सहज विजय दर्ता ग¥यो । खेलभरि एपिएफका खेलाडीहरूले उत्कृष्ट तालमेल, छरितो पास र आक्रामक स्पाइकमार्फत आफ्नो क्षमता प्रस्तुत गरे ।
त्यस्तै अर्को महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–९ अङ्कसहित जित हात पा¥यो ।
आर्मी क्लबले अनुभवी खेलाडीको भरपर्दो प्रदर्शनका कारण खेललाई सहज रूपमा आफ्नो पक्षमा पारेको देखियो।राष्ट्रिय एनभिए भलिबल च्याम्पियनसिप नेपाली भलिबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ ।
प्रतियोगितामार्फत राष्ट्रिय स्तरका साथै विभागीय, क्लब र प्रदेशस्तरीय टोलीबीच प्रतिस्पर्धा हुँदै आएको छ । यसले नेपाली भलिबलको स्तर उकास्नुका साथै नयाँ प्रतिभा उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सरोकारवालाहरू बताउँछन् ।
प्रतियोगिता आगामी दिनहरूमा अझ प्रतिस्पर्धात्मक बन्दै जाने अपेक्षा गरिएको छ । दर्शकहरूको उल्लेखनीय उपस्थितिले पनि भलिबलप्रति बढ्दो आकर्षणलाई प्रष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्