फिल्म ‘परिवर्तन’मा समावेश पहिलो गीत सार्वजनिक

काठमाडौँ, १३ पुस । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘परिवर्तन’मा समावेश पहिलो गीत ‘पाकेको चिउरी’ सार्वजनिक गरिएको छ । क्रिसमस डे को अवसर पारेर बिहीबार सार्वजनिक गरिएको यस गीतले युवायुवतीबीचको प्रेम, आकर्षण र भावनात्मक निकटतालाई सहज ढंगले प्रस्तुत गरेको छ ।

निर्माण पक्षका अनुसार गीतलाई फिल्मको कथावस्तुसँग सुसंगत हुने गरी समावेश गरिएको हो ।
गीतमा लोकप्रिय गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वर रहेको छ । संगीतकार स्वयं एसडी योगीले यस गीतमा संगीत दिएका छन् भने शब्द रचना मौसम अर्यालले गरेका हुन् ।

लयात्मक संगीत र सरल शब्दमार्फत गीतले युवा पुस्ताको मनोभाव, प्रेमको मिठास र आकर्षणलाई व्यक्त गर्ने प्रयास गरेको देखिन्छ । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र दर्शकमाझ राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण टिमको भनाइ छ ।

 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइलीलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार गरिएको भिडियोमा यी दुई कलाकारले आकर्षक र ऊर्जावान नृत्य प्रस्तुत गरेका छन् ।

उनीहरूको अभिनय र नृत्यमार्फत पात्रहरूबीचको सम्बन्धको गहिराइ, समझदारी र भावनात्मक नाता दर्शकसामु स्पष्ट पार्न खोजिएको छ । निर्माण टिमका अनुसार गीतले कथाको एक महत्वपूर्ण मोडलाई उजागर गर्ने भूमिका निर्वाह गर्नेछ ।

‘परिवर्तन’ विजय केरुङको निर्देशनमा निर्माण गरिएको फिल्म हो । यस फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले फिल्मलाई सशक्त बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

फिल्मका निर्माता दीपक सिवाकोटी हुन्। कथावस्तु पनि उनी स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । निर्माण टिमका अनुसार ‘परिवर्तन’ सामाजिक यथार्थमा आधारित कथामा केन्द्रित रहँदै युवापुस्ताको सोच, विद्रोह र परिवर्तनको चाहनालाई उजागर गर्ने प्रयास हो । कथाले व्यक्तिगत जीवनदेखि समाज र राष्ट्रप्रतिको जिम्मेवारीसम्मका विषयलाई समेट्ने बताइएको छ ।

प्राविधिक पक्षमा पनि फिल्मलाई सशक्त बनाउने प्रयास गरिएको छ । दक्षिण भारतीय फिल्म उद्योगमा साउन्ड डिपार्टमेन्टमा लामो समयदेखि काम गर्दै आएकी एम. गीता गुरप्पा यस फिल्मकी साउन्ड डिजाइनर हुन् ।

शिव ढकालले छायांकन निर्देशक (डिओपी) को जिम्मेवारी सम्हालेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् । सम्पादन बन्दे प्रसादले गरेका छन् र सम्पूर्ण फिल्मको संगीत संयोजन एसडी योगीले गरेका हुन् ।

निर्माण पक्षका अनुसार ‘परिवर्तन’ले युवाहरूको विद्रोही सोच, समाजमा देखिएका विकृति, देशप्रतिको उत्तरदायित्व र सकारात्मक सुधारको चाहनालाई सिनेमामार्फत प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

प्रेम, भावना र मनोरञ्जनसँगै सन्देशमूलक पक्षलाई समेत जोड दिने प्रयास गरिएको फिल्मले युवा दर्शकलाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ । माघ ९ गतेबाट प्रदर्शनमा आउने ‘परिवर्तन’ले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो अहिले नै बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्