काठमाडौँ, ८ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित राखेपले खेलाडीको शारीरिक, मानसिक र प्राविधिक तयारीलाई समग्र रूपमा सुदृढ बनाउने प्रयास गरेको हो ।
यसैक्रममा आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गर्दै तीन महत्वपूर्ण विषयमा कक्षा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा एन्टी डोपिङ, स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सन (खेल चोटपटक र त्यसको रोकथाम) तथा खेल पोषण सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो । उच्चस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीले पालना गर्नुपर्ने मापदण्ड, स्वास्थ्य सुरक्षा र दीर्घकालीन प्रदर्शन सुधारमा यी विषयको विशेष महत्व रहने भएकाले राखेपले यस्ता कक्षालाई प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रममा एन्टी डोपिङसम्बन्धी कक्षा डा ज्ञानेन्द्रविक्रम शाह ले सञ्चालन गर्नुभएको थियो । उहाँले डोपिङका नियम, प्रतिबन्धित पदार्थ, परीक्षण प्रक्रिया र डोपिङका कारण खेलाडीको करियरमा पर्न सक्ने नकारात्मक प्रभावबारे स्पष्ट जानकारी दिनुभएको थियो ।
उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वच्छ खेल (फेयर प्ले) को अभ्यास अनिवार्य रहेको उल्लेख गर्दै खेलाडीलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी डा भद्र हमाल ले स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सनसम्बन्धी कक्षा सञ्चालन गर्नुभयो । उहाँले प्रशिक्षण तथा प्रतियोगिताका क्रममा देखिने सामान्यदेखि जटिल चोटपटक, तिनको कारण, प्रारम्भिक उपचार तथा दीर्घकालीन रोकथामका उपायबारे जानकारी दिनुभयो ।
सही वार्मअप, कूलडाउन, तालिमको उचित व्यवस्थापन र समयमै उपचारले खेलाडीको प्रदर्शन र करियर दुवै सुरक्षित गर्न सकिने उहाँको भनाइ थियो ।
खेल पोषणसम्बन्धी कक्षा सृष्टि श्रेष्ठ ले सञ्चालन गर्नुभयो । उहाँले खेलाडीको उमेर, खेल विधा र प्रशिक्षणको प्रकृतिअनुसार आवश्यक पोषण, सन्तुलित आहार, पानी तथा ऊर्जाको सही उपयोगबारे व्यावहारिक सुझाव दिनुभयो । उचित पोषणले खेलाडीको सहनशीलता, तन्दुरुस्ती र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले दैनिक जीवनमै अपनाउन सकिने पोषण सम्बन्धी अभ्यासहरूबारे समेत जानकारी गराउनुभयो ।
राखेपले जापानको आइची–नागोयामा आयोजना हुने आसन्न २०औँ एसियाली खेलकुद प्रतियोगितालाई लक्षित गर्दै ‘मिसन–२०२६’ अन्तर्गत विशेष तयारी गरिरहेको छ ।
उक्त प्रतियोगितामा स्वर्ण पदकसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यका साथ पारा तेक्वान्दोसहित विभिन्न ११ खेल विधामा विशेष प्रशिक्षण सञ्चालन भइरहेको छ । यस कार्यक्रमअन्तर्गत खेलाडीलाई वैज्ञानिक प्रशिक्षण, मनोवैज्ञानिक सशक्तीकरण र प्राविधिक दक्षतामा केन्द्रित गरिँदै आएको छ ।
राष्ट्रिय टोली तयारीका लागि गठित समितिका उपनिर्देशक दीपक श्रेष्ठ का अनुसार हाल सञ्चालनमा रहेको विशेष प्रशिक्षणमा १२० खेलाडी र २० प्रशिक्षक सहभागी रहेका छन् ।
उहाँले यस्ता अभिमुखीकरण तथा तालिम कार्यक्रमले खेलाडीको समग्र क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिँदै खेलकुद क्षेत्रको विकासमा राखेप प्रतिबद्ध रहने उहाँले जानकारी दिनुभयो ।
समग्रमा, ‘मिसन–२०२६’ अन्तर्गत सञ्चालन भइरहेको यो कार्यक्रमले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्