आइसिसी टी–ट्वान्टी विश्वकपका लागि तयारी सुरु

काठमाडौँ, ८ पुस । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकपका लागि नेपालले औपचारिक तयारी सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ २५ गतेदेखि फागुन २४ गतेसम्म (सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सञ्चालन हुने विश्वकपलाई लक्ष्य गर्दै नेपाली राष्ट्रिय टोलीले मंगलबार (आज)देखि प्रशिक्षण क्याम्प सुरु गर्न लागेको हो । यस प्रतियोगितालाई नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

विश्वकपको तयारीका लागि क्यानले प्रारम्भिक चरणमा २४ जना खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको छ । यस सूचीमा यसअघि राष्ट्रिय टोलीमा समावेश भइसकेका अनुभवी खेलाडीका साथै पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नयाँ र उदाउँदै गरेका खेलाडीलाई पनि अवसर दिइएको छ । क्यानले प्रतियोगितामा प्रतिस्पर्धी टोली तयार पार्ने उद्देश्यले अनुभव र वर्तमान फर्मलाई सन्तुलनमा राखेर खेलाडी छनोट गरेको जनाएको छ ।

हालै मात्र सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को प्रदर्शन पनि खेलाडी छनोटको प्रमुख आधार बनेको छ । उक्त लिगमा देखिएको खेलाडीहरूको क्षमता, निरन्तरता र फिटनेसलाई मूल्याङ्कन गर्दै प्रशिक्षण क्याम्पका लागि नाम छनोट गरिएको क्यानको भनाइ छ । यसले घरेलु प्रतियोगितालाई राष्ट्रिय टोलीसम्म पुग्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न थप बल पुगेको देखिन्छ ।

एनपिएलमा प्रभावशाली प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् । यी खेलाडीले पछिल्लो समय आफ्नो प्रतिभा र क्षमता प्रमाणित गर्दै राष्ट्रिय टोलीको ढोका ढकढक्याएका थिए । प्रशिक्षण क्याम्पमार्फत उनीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि आफूलाई अझ परिष्कृत गर्ने अवसर पाउनेछन् ।

प्रशिक्षण क्याम्पमा खेलाडीहरूको शारीरिक फिटनेस, ब्याटिङ, बलिङ, फिल्डिङ तथा खेल रणनीतिमा विशेष ध्यान दिइने क्यानले जनाएको छ । साथै, टोली संयोजन, खेलाडीबीचको समन्वय र मानसिक तयारीमा पनि जोड दिइनेछ । विश्वकप जस्तो ठूला प्रतियोगितामा मानसिक दृढता र रणनीतिक तयारी अत्यन्तै महत्वपूर्ण हुने भएकाले प्रशिक्षक टोलीले समग्र विकासमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

आइसिसी टी–ट्वान्टी विश्वकपअन्तर्गत नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ । समूह चरणमै नेपाललाई बलिया र अनुभवी टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नेपाल समूह ‘सी’ मा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग परेको छ । यी सबै टोलीसँग फरक–फरक शैली र अनुभव भएकाले प्रत्येक खेल नेपालका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

नेपालले माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्वकप अभियानको सुरुवात गर्नेछ । विश्व क्रिकेटको शक्तिशाली टोलीमध्ये एक इंग्ल्याण्डविरुद्धको उद्घाटन खेलले नेपालका लागि ठूलो परीक्षा लिनेछ । त्यसपछि वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग हुने खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देखाएको प्रगतिले समर्थकहरूमा आशा र उत्साह बढाएको छ । विश्वकपको तयारीलाई व्यवस्थित र दीर्घकालीन सोचका साथ अघि बढाउन सकेमा नेपालले यस प्रतियोगितामा सम्मानजनक प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापनको सामूहिक प्रयासले नेपाली क्रिकेटलाई अर्को उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्