राष्ट्रिय लिग फुटबलमा सहभागी हुने टोली सार्वजनिक

काठमाडौँ, २८ मंसिर । पुस २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको पुरस्कार राशिदेखि खेल तालिका, खेलाडी दर्ता तथा सहभागी टोलीहरूको अन्तिम सूचीसमेत सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा सहभागी हुन लागेका १७ क्लबका प्रतिनिधिबीच शुक्रबार भएको विस्तृत छलफलपछि प्रतियोगिताको ढाँचा तथा तयारी सम्बन्धी महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिएको हो ।

एन्फाका अनुसार यसपटकको राष्ट्रिय लिग विजेता क्लबले ५० लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ । यो राशि नेपाली फुटबलको लिग संरचनामा हालसम्मकै आकर्षक पुरस्कारमध्ये एक मानिएको छ । द्वितीय स्थान हासिल गर्ने टोलीले २५ लाख तथा तेस्रो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसले क्लबहरूलाई प्रतिस्पर्धात्मक ढंगले तयारी गर्न थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय लिग पुस २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि क्लबहरूले पुस १८ भित्र खेलाडी दर्ता अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । त्यस्तै, प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति एन्फा र क्लबबीच भएको छ ।

यसपटकको राष्ट्रिय लिग सिंगल राउन्ड रोबिन ढाँचामा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक क्लबले १६ खेल खेल्नु पर्नेछ । ए डिभिजनका १४ क्लबमध्ये हिमालयन शेर्पा क्लब बाहेक सबै क्लबले सहभागिता जनाउनेछन् । साथै, एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ टोली मिलाएर जम्मा १७ क्लबले प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाइएको छ ।

क्लबहरूको तयारीलाई सहयोग पु¥याउन एन्फाले प्रतियोगिताभन्दा अघि हरेक क्लबलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी, एन्फा प्रेसिडेन्ट कपमार्फत राष्ट्रिय लिगमा स्थान बनाएका काठमाडौँ उपत्यकाबाहिरका क्लबलाई २ लाख रुपैयाँ यातायात खर्च र उपत्यकाभित्रका क्लबलाई १ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

यस व्यवस्थाले भौगोलिक दूरी तथा अतिरिक्त खर्चका कारण क्लबहरूलाई पर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय लिगका लागि दर्ता भएका क्लबहरूको सूची

ए–डिभिजन क्लबहरू १) चर्च ब्वाइज युनाइटेड २) मच्छिन्द्र क्लब ३) नेपाल पुलिस क्लब ४) जावलाखेल युथ क्लब ५) सातदोबाटो युथ क्लब
६) एनआरटी ७) त्रिभुवन आर्मी क्लब ८) मनाङ मस्र्याङ्दी क्लब

९) संकटा क्लब १०) फ्रेन्डस क्लब ११) एपिएफ क्लब १२) प्लानिङ ब्वाइज युनाइटेड १३) श्री भगवती क्लब
एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका क्लबहरू १) लालीगुराँस युवा क्लब – कास्की २) चित्लाङ यू क्लब – काठमाडौं ३) नव जनजागृति क्लब – बारा ४) काक्रेविहार स्पोट्र्स क्लब – सुर्खेत

यसपटकको राष्ट्रिय लिगले नेपाली फुटबलमा नयाँ ऊर्जा भरिदिने एन्फाको विश्वास छ । आकर्षक पुरस्कार, व्यवस्थित तयारी, प्रतिस्पर्धी टोलीहरू र व्यवस्थित लिग संरचनाले खेलाडी र क्लब दुबैको स्तर उकास्ने अपेक्षा गरिएको छ । दर्शकहरूका लागि पनि यो लिग घरेलु फुटबलमा उत्कट प्रतिस्पर्धा र रोमाञ्चको अनुभव प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्