काठमाडौँ, ३० माघ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ रु एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ रु ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० तोकिएको छ ।
एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट करिब रु दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छन् । ३० मध्ये गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल व्यवसायिक फुटबलका लागि देश बाहिर छन् ।
एएफसी उमेन्स एसिया कप र फिफा वमन्स वल्र्ड कपको तयारी स्वरुप इन्टरनेसनल च्याम्पियनसिपको आयोजना गरिएको एन्फाले जनाएको छ ।
खल्ती एपबाट टिकट खरिद गर्न सकिने च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले गर्ने एन्फाले जनाएको छ । एन्फाले टिकेटिङ अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई बेचेको छ । १ करोड ३५ लाख रुपैयाँमा टिकेटिङ राइट एन्फाले बेचेको बताइएको छ ।
ब्रान्ड डिजिटल लोजिकलाई नै ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार ६६ लाख रुपैयाँमा बिक्री गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अलग अलग टेन्डरबाट ब्रान्ड डिजिटल लोजिकले दुवै अधिकार प्राप्त गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। टेन्डरमा दुई वटा कम्पनीले दाबेदारी प्रस्तुत गरेको पनि एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्