चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, २३ मंसिर । हाँस्य कलाकारका रूपमा लोकप्रिय अर्जुन घिमिरे ‘पाँडे’ द्वारा निर्देशित नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको जीवनदृष्टि, उनीहरूको विद्रोही चेत र भ्रष्टाचारविरुद्धको संघर्षलाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको छ ।

ललितपुरस्थित एक चलचित्र भवनमा शुक्रबार ट्रेलर सार्वजनिक गर्दै निर्देशक घिमिरेले देशमा बढ्दो राजनीतिक अनियमितता र सामाजिक बेथितिप्रति जागरूक नयाँ पुस्ताले देखाउने प्रतिरोधलाई कथाको केन्द्रीय ठाउँमा राखिएको जानकारी दिनुभयो ।

निर्देशक घिमिरेका अनुसार चलचित्रले सामान्य नागरिकको दृष्टिकोणबाट देशमा देखिएका विसंगति र भ्रष्टाचारविरुद्धको आवाजलाई कलात्मकरूपमा उठान गर्ने प्रयास गरेको छ । उहाँले भन्नुभयो, “हामीले कुनै राजनीतिक वा विशिष्ट समूहको एजेन्डा वाहेक एक साधारण नागरिकले देशको अवस्थाबारे राख्ने भावना र दृष्टिकोणलाई कथामा उतार्यौँ ।

अहिले देशमा भैरहेको घटनाक्रमसँग कथाको मेल देखिनु संयोग मात्र होइन, नागरिकको साझा चिन्ता नै समान भएको पुष्टि हो।” उनका अनुसार चलचित्रको अधिकांश छायाङ्कन देशमा पछिल्ला राजनीतिक उतार–चढाव देखिनुभन्दा अघि नै पूरा भइसकेको थियो ।

चलचित्र निर्माणमा संलग्न कलाकार तथा प्राविधिक टोलीले पनि समाजमा मौलाउँदै गएको भ्रष्टाचार र अन्याय विरुद्ध कलाको माध्यमबाटै जनमत बनाउनु कलाकारको दायित्व भएको टिप्पणी गरेका छन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालीद्वारा निर्माण गरिएको ‘झरीपछिको इन्द्रेणी’ मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपालीलगायत चर्चित कलाकारहरूको अभिनय समावेश छ ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र राष्ट्रिय मनोविज्ञान र सामाजिक अवस्थालाई यथार्थ रूपमा चित्रण गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो लागि यस चलचित्रको विषयवस्तु नै काम गर्ने मुख्य प्रेरणा हो।

यो आम नागरिकको कथा हो हामीले भोगेको, देखेको र महसुस गरेको यथार्थ हो । त्यसैले कलाकारले पनि यसको पात्र र कथालाई न्याय दिन पूर्ण समर्पणका साथ काम गरेका छौँ। दर्शक चलचित्रसँग सजिलै जोडिनेछन्।”

चलचित्रमा निर्देशक घिमिरेकै कथा समावेश छ भने गणेश कार्की र विशाल घिमिरेले पटकथा लेखेका छन् । बुद्ध थापाले छायाङ्कनको जिम्मेवारी सम्हालेका छन् । जेनजी पुस्ताको आवाज र देशप्रतिको जिम्मेवारीबोध उजागर गर्ने उद्देश्यले तयार गरिएको ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्