गोर्खा सैनिकको कथामा आधारित फिल्म ‘गोर्खा वारियर’को व्यावसायिक प्रदर्शन सुरु

 

काठमाडौं, १२ फागुन । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु भएको छ ।
निर्देशक मिलन चाम्स पूर्व बिट्रिस गोर्खा सैनिक हुन् । तर, फिल्मप्रतिको मोहका कारण उनले जागिरे जीवन नै त्यागिदिए । यद्यपि, उनलाई गोर्खा सैनिकको कथामा फिल्म बनाउने हुटहुटी थियो । त्यही हुटहुटीले जन्मिएको हो, ‘गोर्खा वारियर’ । अनुसन्धान तथा छायांकन र पोस्ट प्रोडक्सन गरी उनले यो फिल्मलाई १० वर्ष समय दिएका छन् । र, शुक्रबारबाट उनको परीक्षा सुरु भएको छ ।

पहिलो नेपाली ‘जंगल वार’ फिल्म मानिएको ‘गोर्खा वारियर’ ५ करोडमाथिको लागतमा बनेको हो । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलू बक्स अफिसमा १० करोडमाथिको कमाई गर्नुपर्नेछ । यो आफैंमा चुनौतीपूर्ण भए पनि असम्भव छैन । एकातिर फिल्म सोलो रिलिज भएको छ भने अर्कोतिर प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । यसको प्रभाव बक्स अफिसमा देखिन सक्ने प्रक्षेपण छ ।

सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो फिल्मले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह–निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । ‘गोर्खा वारियर’लाई ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना दिएका छन् ।

यसैगरी, गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । बिहीबार साँझसम्म बुकिङ कमजोर देखिए पनि शुक्रबार दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । विशेषगरी समुदायगत दर्शकहरुको उपस्थिति बाक्लो देखिन्छ । शुक्रबार दिउँसो फिल्म हेर्नका लागि ललितपुरको सडकमा ¥याली नै निकालिएको थियो ।

गौर्खा सैनिकको ट्रेनिङ दिने संस्थादेखि विभिन्न सुमुदायगत संघ–संस्थाका व्यक्तिहरुले जावलाखेल चोकबाट नारासहित निकालेको ¥याली लबिम मल पुगेर टुंगिएको थियो । ¥यालीमा ६ सयभन्दा बढी सहभागी थिए । ¥यालीसहित फिल्म हेर्न पुगेका दर्शकको चापले लबिम मलस्थित क्यूएफएक्स हलको १२ बजेको शो ‘हाउसफुल’ भएको छ भने बाँकी दर्शकका लागि ३ बजेको शो राखिएको छ ।

लबिम मल पुगेको ¥यालीलाई सम्बोधन गर्ने क्रममा निर्देशक मिलन चाम्सले फिल्मलाई साथ दिन आग्रह गरे । उनले भने– ‘नेपालमा तीनवटा विषयमा धेरै फिल्म बन्नुपर्छ । सगरमाथा, बुद्ध र गोर्खालीको कथामा । ‘गोर्खा वारियर’ले यसको सुरुवात गरेको छ । सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ फिल्म हेर्न पूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको पनि हलमा सुखद् उपस्थिति देखिएको छ ।

धरानका मेयर हर्क साम्पाङ राईले त ‘गोर्खा वारियर’ हेर्न सामाजिक सञ्जालमार्फत् उर्दी नै जारी गरेका छन् । फागुन ५ गते धरान प्रिमियरमा फिल्म हेरेका उनले लेखेका छन्, ‘लाहुरेको परिवारले ‘गोर्खा वारियर’ फिल्म हेरेन भने पाप लाग्न सक्छ । अनिवार्य हेर्नु गएर । आजदेखि नेपालभर प्रदर्शन हुँदैछ । अरुले पनि हेर्नु, नेपाली फिल्म यत्तिको बनेको छैन । रुँदा–रुँदा हैरान भएँ अस्ति ।’

 

प्रतिक्रिया दिनुहोस्