यु–१९ क्रिकेटमा नेपाल युएईसँग पराजित

 

काठमाडौँ, १६ मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपाधिबाट चुकेको छ । सोमबार भएको उपाधि भिडन्तमा नेपाललाई २७ रनले पराजित गर्दै आयोजक युएई प्रतियोगिताको ट्रफी जित्न सफल भयो ।

अजमानस्थित करवान मैदानमा भएको फाइनलमा १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमै १२० रनमा समेटियो । ओपनिङदेखि नै दवाबमा परेको नेपाली टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै आवश्यक रनरेट पु¥याउन सकेन । कप्तान अशोक धामीले सर्वाधिक ३४ रन जोडेर पारी सम्हाल्ने प्रयास गरे पनि अन्य खेलाडीबाट अपेक्षित साथ मिलेन ।

आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन बनाए, तर दुवैले सेट भइसकेपछि विकेट जोगाउन नसक्दा नेपाल थप संकटमा पर्यो । युएईका बलर युग जै शर्मा र अली असगर शम्स नेपाली ब्याट्सम्यानका लागि चुनौती बने, दुवैले तीन–तीन विकेट हात पार्दै नेपालको रन–चेज धराशायी बनाइदिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको युएई ४५.५ ओभरमा १४७ रनमै अलआउट भएको थियो । युएईका लागि अहमद खुदादाद सर्वाधिक ७१ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको संयमित पारीकै आधारमा युएईले प्रतिस्पर्धात्मक योगफल बनाउन सफल भयो ।

नेपालका बलरमध्ये दयानन्द मण्डल निकै प्रभावकारी देखिए । उनले ६ विकेट हात पार्दै युएईका अधिकांश शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानलाई पभेलियन फर्काए । अपराजित पौडलले २ विकेट लिए भने कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक–एक विकेट हात पारे । बलिङतर्फ नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ विभागले निराशा दिएको प्रष्ट देखियो ।

यद्यपि उपाधिबाट टाढा भए पनि नेपालले यसअघि नै यु–१९ एसिया कपका लागि छनोट पूरा गरिसकेको छ । प्रतियोगिताको नियमअनुसार फाइनलमा प्रवेश गर्ने दुवै टोली नेपाल र युएई आगामी डिसेम्बरमा युएईमै हुने यु–१९ एसिया कपमा सिधै छनोट हुने प्रावधान रहेको छ ।

यसअघि समूह चरण र सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनल पुगेको नेपाली टोलीले उपाधि जित्ने ठूलो अपेक्षा बनाएको थियो । तर, अन्तिम खेलमा ब्याटिङ लाइनअप कमजोर देखिँदा नेपालले अवसर गुमाएको छ । अब नेपालले एसिया कप तयारीतर्फ ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्