काठमाडौँ, २७ असोज । नेपाल प्रहरी श्रीमती सङ्घले अन्तरराष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
आइतबार सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार ५५५ सहित सम्मान गरेको हो ।
सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सोही अवसरमा सङ्घले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
एरिका नेपाल पुलिस क्लबमा आवद्ध छिन् । उनले यही असोज १७ देखि १९ गतेसम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
उनले कुमितेतर्फ ६८ किलो माथिको तौलमा स्वर्ण जितेकी थिइन् । एरिका ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् ।
सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।
यसैगरी विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ गतेदेखि मिति २०८२ कार्तिक २ सम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउने स्वनिम मानन्धर, सविना श्रेष्ठलाई बिदाई गरिएको छ ।
प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् १३ औ दक्षिण एशियाली का दोहोरो स्वर्ण पदक बिजेता यबम हाल राष्ट्रिय टिमका प्रशिक्षक मन्दे काजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्