काठमाडौँ, २२ असोज । महिला टि ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो । मंगलबार मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो ।
नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् । नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए ।
मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् ।
माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् । शृङ्खलाको अन्तिम खेल आज (बुधबार) हुनेछ ।
यसैगरी, महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन् । घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नटआउट ४८ रन बनाउँने क्रममा उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन् ।
‘६ सय रन पार गरेपछि १ हजार रनको सपना देखेकी थिए,’ उनले हाम्रो खेलकुदसँग भनिन्, ‘आज त्यो सपना पूरा भयो । टि–ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने इन्दु पहिलो नेपाली महिला खेलाडी बनेकी छिन् ।
यसअघिका ७६ खेलमा इन्दुले ९ सय ८५ रन बनाएकी थिइन् । मलेसियासँग १५ रन जोडेसँगै उनको १ हजार रनको आँकडा पूरा भएको हो । आफ्नो करियरमा १ हजार १८ औं बलमा चौका प्रहार गर्दै उनले १ हजार रन पूरा गरेकी थिइन् ।
मंगलबारको खेलपछि इन्दुको कुल रन १ हजार ३३ रन पुगेको छ । जसमा ७७ चौका र ३ छक्का सामेल छ । उनले एक पटक अर्धशतक बनाएकी छिन् । सन् २०२१ मा कतार विरुद्ध अविजित ५५ रन जोडेकी थिइन् । टि ट्वान्टी आईमा त्यो उनको व्यक्तिगत उच्च स्कोर पनि हो ।
इन्दुले मंगलबार खेल्ने क्रममा भने १ हजार रन पूरा भएको आफूलाई थाहा नरहेको बताइन् । ‘मैदानमा हुँदा त्यसबारे थाहा नै थिएन । डगआउटबाट साथीहरुलेले ‘हजार रन पूरा भयो’ भनेपछि मात्र थाहा पाएँ,’ उनले भनिन् ।
इन्दुले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो लागि महत्वपूर्ण हुने बताइन् । ‘मेरो लागि टोलीको जित नै प्रमुख हो । टोलीकै कारण मैले हजार रन पूरा गरेकी हुँ । त्यसको खुसी खेल सकिएपछि ड्रेसिङ रूममा मनाएँ।’
इन्दुले अबको लक्ष्य बिस्तारै १ हजार ५ सय हुँदै २ हजार रन पुर्याउने रहेको बताइन् । सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी सीता राना मगर हुन् । उनले ६२ खेलमा ९ सय ६५ रन बनाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्