प्रधानमन्त्री कप क्रिकेट छनोट  :  उपाधि बझाङलाई

बैतडी, १३ पुस  । यहाँ जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ । उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ ।
प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा आज डोटीलाई छ विकेटले हराउँदै बझाङ छनोट भएको हो । जितका लागि पाएको ८६ एक सय रनको लक्ष्य बझाङले २९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले आठ विकेटको क्षतिमा एक सय ८५ रन बनायो । डोटीका खगेन्द्र जोशीले ६३ रनको पारी खेले । बझाङका  पारस रोकायाले दुई विकेट लिए ।
विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पूर्वनगरप्रमुख नरेन्द्रसिंह थापा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गर्नुभयो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको  थियोे । प्रादेशिक क्रिकेट सङ्घले यस वर्षदेखि दुई चरणमा छनोट प्रतियोगिता गरिररहेको छ ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भएको हो । दोस्रो चरणमा बैतडी र कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर, अछाम र बझाङ  सहभागी हुनेछन् ।
गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले  सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन् । इलिट च्याम्पियनसिपको पहिलो   खेलमा  शनिबार  बैतडी र बझाङबीचको खेल बैतडीमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्