काठमाडौं, २० असोज । फूलपातीबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’को व्यापार मोफसलमा आक्रामक देखिएको छ ।
रिलिजको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ ।
फिल्मको आइतबार पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार राम्रो देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै आक्रामक देखिएको हो ।
यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको छ ।काठमाडौंका हलमा पनि दर्शकको सुखद चाप देखिएको छ ।
पश्चिमका थुप्रै स्टेशनमा फिल्मको व्यापार आक्रामक देखिएपछि यसका कलाकार नेपालगञ्ज जाने तयारीमा लागेका छन् । नेपालगञ्जमा रहेको सिने रोयल र क्यूएफएक्स बागेश्वरीमा फिल्म हेर्ने दर्शकको चाप उच्च छ । मंगलबार र बुधबार नेपालगञ्जका दर्शकसँग कलाकारहरुले साक्षात्कार गर्ने तयारी गरेका छन् ।
नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ, प्रकाश सपुत लगायतका कलाकारहरु पश्चिम जाने निर्माणपक्षले बताएको छ ।
मिलन तामाङको निर्देशन रहेको चलचित्र रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको हो । ईश्वर श्रेष्ठ र निरज कटुलाल फिल्मका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।
चलचित्रमा केदार, धिरज, प्रकाश, उपासनाको अलवा श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्