काठमाडौं, ६ असोज । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हरि बहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ३ मिनेट १२ सकेण्ड लामो ट्रेलरले हास्य, संवेदनशीलता र सामाजिक सन्देशलाई मिसाउँदै दर्शकलाई नयाँ अनुभव दिने संकेत गरेको छ ।
ट्रेलरको सुरुवातमै हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्य (हरि बहादुर) को प्रमुख उपस्थिति देखिन्छ । कथावस्तु उनको प्रिय जुत्तालाई केन्द्रमा राखेर अगाडि बढेको झल्किन्छ, जसलाई केवल कपडाको सामान नभई आत्मीयता, स्मृति र संघर्षको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव र प्रियंका कार्की लगायतका कलाकारलाई देखाइएको छ । स्वस्तिमा र प्रियंकाले कथामा परिवार र सम्बन्धको भावनात्मक पक्ष उजागर गर्ने संकेत गरेका छन् भने प्रकाशले नयाँ पुस्ताको दृष्टिकोण बोकेको पात्रलाई प्रतिनिधित्व गरेको देखिन्छ ।
कथामा हरि बहादुर र उनको जुत्ताबाट समाजका विभिन्न तहका समस्या र हास्यरसपूर्ण घटनाहरू जोडिएको छ । कतिपय दृश्यमा हाँसाउने हदसम्म रमाइला संवाद छन् भने कतिपयमा जीवन, माया र संघर्षको गहिरो संवेदना व्यक्त गरिएको छ । फिल्मले ग्रामीण र शहरी पृष्ठभूमिको मिश्रणलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
फिल्मको ट्रेलरमा समावेश ब्याग्राउण्ड म्युजिकले भावनात्मक उतार चढावलाई बल दिएको छ भने सम्पादनले ट्रेलरलाई गतिशील बनाएको छ । निर्माताले फिल्मलाई सामाजिक सन्देशसहितको मनोरञ्जनका रूपमा बजारमा ल्याउने संकेत गरेका छन् । ट्रेलरबाट फिल्मले दर्शकलाई हास्य, भावना र यथार्थ कथासँग जोड्ने अपेक्षाले उत्साहित देखिन्छन् ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्