काठमाडौं, ३ असोज । दशैंको फूलपाती (असोज १३) गतेदेखि फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने भएका छन ।
फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालमा घोषित मिति मै रिलिज हुने भएसँगै अमेरिका प्रदर्शन पनि पक्का भएको छ । अमेरिकाका ८० पर्दामा यो फिल्म रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ ।
यो कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही फिल्मबाट वितरणमा डेब्यु गर्न लागेका उनी वितरक उज्वल पौडेलका छोरा हुन् । टेक्सासमा बसोबास गर्दै आएका आहानाले ‘हरिबहादुरको जुत्ता’ अमेरिकाको बक्सअफिसमै रिलिज हुने जानकारी दिए ।
यो फिल्मलाई अमेरिकाका ठूला मल्टीप्लेक्स चेनहरू सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज, एप्पल सिनेमाजमा रिलिज गर्ने तयारी भइरहेको आहानाले बताए ।
अमेरिका वितरक पौडेलका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड लगायतका राज्यमा सिनेमा रिलिज हुनेछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मको टिजर र दुई गीत ‘बेला
बितेसी’ र ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएपछि अमेरिकामा दर्शकको चासो उल्लेख्य बढेकाले व्यापार राम्रो हुने अपेक्षा वितरक टिमको छ ।
फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।
सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।
संगीततर्फ वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिनेछ । ‘हरिबहादुरको जुत्ता’ले नेपाली समाज, हास्य–व्यङ्ग्य र भावनात्मक पक्षलाई स्पर्श गर्ने अपेक्षा गरिएको छ ।
यस्तै,फिल्म ‘बलिदान’को नायक समीर भट्ट हुन् । यस फिल्ममा नायकहरु सौगात मल्ल, अपर्ण थापा र नायिका ऋचा शर्माको समेत अभिनय रहने बताइएको छ । निर्देशक भने सन्तोष सेन हुन् ।
त्यस्तै, फिल्ममा ‘माइतीघर’को नायकहरु धिरज मगर, प्रकाश सपुत र नायिका उपासनासिंह ठकुरी हुन् । यसको निर्देशक मिलन तमाङ हुन् भने निर्माता रोहित अधिकारी हुन् ।
प्रतिक्रिया दिनुहोस्