‘इच्छुक’ ‘को सम्झनामा समर्पित ‘सलाम इच्छुक’ सार्वजनिक

काठमाडौँ, २० असार । प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ सार्वजनिक भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत र रमण थामीको स्वर रहेको छ ।

सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताए ।

सङ्गीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए । गायक थामीले इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मकमात्र होइन, वैचारिक उत्तराधिकारको सम्मान भएको बताएका छन् ।

इच्छुकलाई २०५९ साल जेठ १३ गते पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो । उनको हत्यापछिको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो ।

तत्कालीन जनयुद्धकालका साहित्य सङ्गीतका अगुवा तथा नेता मणि थापाले क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने सृजना भएको बताए । साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यसले गीतसङ्गीतले इतिहासको मूल्याङ्कनमा नयाँ मानक स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्