काठमाडौँ, ८ जेठ । चलचित्र ‘माग्ने राजा’ भदौ ६ मा प्रदर्शन हुने भएको छ । भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सावजनिक गरिएको हो । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रममा तीनवटा पोस्टरको घुम्टो उघारियो । उक्त कार्यक्रममा अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ फिल्मकै गेटअपमा उपस्थित भएका थिए ।
तीनमध्ये एक पोस्टरमा केदार कुर्सीमा पैसासहित रिसाहा मुद्रामा बसेका छन् । पहेँलो सर्ट र पाइट लगाएका उनको गलादेखि हातका औंलासम्म सुनै सुन देखिन्छ । उनको यही गेटअप अन्य दुई पोस्टरमा पनि छ । दोस्रो पोस्टरमा उनीसहित वर्षा सिवाकोटी र विल्सन विक्रम राई चित्रित छन् । वर्षाले सुटकेस बोकेकी छन् भने विल्सन दुई हातमा पैसा समातेर खुसी मुद्रामा देखिएका छन् ।
तेस्रो पोस्टरमा केदार र वर्षालाई पैसाको बन्डलसहित अचम्मित भावमा देख्न सकिन्छ । तीनवटा पोस्टरले फिल्मको कथा पैसाको वरिपरि घुमेको संकेत गर्छ । निर्देशक ऋषि लामिछानेका अनुसार धनी बन्ने महत्त्वाकांक्षाको कथामा फिल्म बनेको हो । ‘माग्ने राजा’ले केदारको करिअरलाई अझ उचाइमा पुर्याउने उनको दाबी छ ।
दाङको घोराही उपमहानगरपालिका(४ का वडा अध्यक्ष समेत रहेका मुनाल घिमिरेको लगानीमा बनेको यो फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी ९मिस पबी० लगायतको पनि अभिनय छ भने विशेष भूमिकामा आर्यन सिग्देल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा दीपक शर्मा र बाबुल गिरीको गीतमा संगीत रहेको छ ।
यस फिल्ममा माग्ने बुढाको पारिश्रमिको खुबै चर्चा भएको छ । सर्वाधिक पारिश्रमिक लिने होडमा हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ सबैभन्दा अगाडि आएका छन् । गत वर्ष फिल्म ‘माग्ने राजा’मा केदार अनुबन्धित भएपछि उनी सर्वाधिक महँगा कलाकार बनेको भन्दै ठूलो चर्चा भएको थियो । तर, उनको पारिश्रमिक खुलाइएको थिएन । चर्चा भने ५५ लाखसम्मको चल्यो । शुक्रबार फिल्मको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता आफैंले उनलाई तिरेको पारिश्रमिकबारे खुलासा गरेका छन् । निर्माताको खुलासाले कार्यक्रममा धेरैले जिब्रो टोकेका थिए ।
घोराही उपमहानगरपालिका(४ का वडाध्यक्ष समेत रहेका निर्माता मुनाल घिमिरेका अनुसार ६१ लाख रुपैयाँ पारिश्रमिकमा उनलाई फिल्ममा अनुबन्धित गरिएको हो । उनले कार्यक्रममा भने, ‘म कलाको मन्दिर ९प्रज्ञा प्रतिष्ठान०लाई साक्षी राखेर भन्छु, केदार घिमिरेलाई सम्झौताको बेला ५१ लाख दिएको हुँ । अझै १० लाख दिन बाँकी नै छ । उनलाई ६१ लाख तिर्ने प्रतिबद्धता भएको हो ।’
कार्यक्रममा पारिश्रमिकबापत राज्यलाई तिर्नुपर्ने करको विषयमा पनि पत्रकारले प्रश्न गरेका थिए । जसको जवाफमा केदारले भने, ‘म इमानदारिताका साथ कर तिर्छु । सबै पैसा आइसकेको छैन । आएपछि तिर्छु । राज्यलाई कर नतिरिकन यसो र उसो भएन भन्दैनौं हामी ।’ केदारले फिल्ममा ६१ लाख पारिश्रमिक लिएका हुन् भने उनले राज्यलाई ९ लाख १५ हजार रूपैयाँ कर तिर्नुपर्नेछ ।
निर्देशक ऋषि लामिछानेलाई भने केदारलाई तिरेको ६१ लाख पनि कम भयो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई त केदार घिमिरेलाई ६१ लाख दिएर गल्ती गर्यौं भन्ने लाग्छ । उहाँलाई एक करोड दिनुपर्ने रहेछ । उनको जुन मिहिनेत र समर्पण छ, त्यो अद्भूत छ । उहाँ रातको ११ बजे समेत स्क्रिप्टमा छलफल गर्न आउनुहुन्थ्यो । त्यस्तो अभिनेतालाई ६१ लाख धेरै कम हो, एक करोड दिनुपर्छ ।’ भनेर प्रशंसा समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्