सुदूरपश्चिमसँगको खेलमा कर्णालीको जित

कर्णाली, २० जेठ । ‘सुदूरपश्चिमसँगको खेलमा कर्णालीले जितेको छ । टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ दोस्रो दिन पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको हो ।

सुर्खेत वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा सोमबारदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिसँग भएको खेलमा कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पहिलो जित निकालेको हो । पचास ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे ।

चार ओभर बलिङ गरेका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल भए। दसौँ ओभरमा बलिङ गर्न आएका उनले एक रन मात्रै खर्चिए । बाह्रौँ ओभरमा एक रन दिएर एक विकेट लिएका उनी चौधौँ ओभरमा मेर्डनसहित एक विकेट लिँदा सोह्रौँ ओभरमा मेर्डनसहित तीन विकेट लिएका हुन ।

सुदूरपश्चिमका ओपनरविक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले पाँच विकेट लिँदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात परेका हुन।

जवाफी ब्याटिङ थालेको कर्णालीले १८।३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाउँदा नमनसिंह थापा र भूपेन्द्रजङ्ग शाहीले नटआउट समान नौ रन बताए। नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनायो भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाएको थियो ।

कर्णालीसँगको खेलमा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्