नेपाल एपिएफ क्लबले दोस्रो टि२० खेलमा बागमती प्रदेशलाई हरायो

काठमाडौं, २९ मंसिर । नेपाल एपिएफ क्लबले दोस्रो टि२० खेलमा बागमती प्रदेशलाई ६२ रनले हराएको छ । योसँगै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनायो । बागमतीको लागि सलिना सिलवालले ३६ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् । यशु पाण्डे १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहिन् ।

अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर हेसिला गुरुङ ११, कन्चन श्रेष्ठ ४, अस्मिता खरेल ५, सुजिता थापा ३, एली यादव ८ र खुशी डंगोल १ रनमा आउट भइन् । विपिशा शाही ४ रनमा नट आउट रहिन् । एपिएफकी स्पिनर निशा भ्टटले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । तीव्र गतिकी बलर रेखा रावलले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र करुणा भण्डारीले १–१ विकेट लिइन् ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । ओपनर राजमति ऐरी ६३ बलमा ५ चौका र २ छक्कासहित ६९ रनमा नट आउट रहिन् । ममता चौधरी ४२ बलमा ५ चौकासहित ४६ रनमा आउट भइन् । एपिएफलाई ओपनर राजमति र ममताले पहिलो विकेटका लागि १५.१ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । रोमा थापा ३ र सरिता मगर १० रनमा आउट भइन् ।

बागमतीको लागि युवा तीव्र गतिकी बलर कृष्मा गुरुङले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । खुशी डंगोलले १ विकेट लिइन् । पहिलो खेलमा बागमती ७२ रनले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । खेल बिहान साढे १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्