काठमाडौँ, १६ जेठ। एघारौँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा ३९२ जना साइकलयात्री सचेतनामूलक साइकल र्याली गरेका छन् । महिनावारी स्वच्छताका लागि काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्यालीमा ३ सय ५२ जना महिलासहित ३ सय ९२ जना साइकल यात्रीले काठमाडौ भक्तपुर ललितपुर साइकल यात्रा गरेका हुन् ।
महिनावारीमा महिलाबाटै महिला विभेद हुने गरेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको समापन सभामा बोल्दै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहारमा सुधार हुनुपर्ने बताइन्। उनले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गरिन् । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको बताइन् । उनले महिनावारीका बेला हुने पारिवारिक सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्वपूर्ण रहेको दावी गरिन् । एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जनामात्र महिला सहभागी भएको स्मरण गर्दै ८ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको बताएका छन् । साइकल र्यालीका सहभागीले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने वा अलग व्यवहार भोग्नुपर्ने असामाजिक मान्यता चिर्न र्यालीमा महिलाको सहभागिता बढेको जानकारी दिए ।
महर्जनले एक्सपोज नेपालमार्फत देशका विभिन्न जिल्लाका सयौँ महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाइ प्रयोग र बिक्री वितरण गरेर आम्दनी गर्न सहगोग गर्दै आएका छन् ।
महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ काठमाडौको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली सुरु गरि ललितपुरको मंगलबजारमा समापन भएको हो । र्यालीमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल MHMPA, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, डिग्निटी विदआउट डेन्जर लगायतका संस्थाहरूले सघाएका थए।
प्रतिक्रिया दिनुहोस्