टिप टप हेल्प नेपाल नवौं पिएम कप लिगमा हेल्प नेपाल फाइनल नजिक

काठमाडौँ, १३ जेठ । साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ रावफिलो प्रदर्शनलाई निरन्तरता दिएको छ ।
मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले विजयी यात्रालाई ५ खेल सम्म पुर्याएको छ । जितमा शीर्षस्थान उक्लिएको हेल्प नेपाल फाइनल नजिक पुगेको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले मणिमुकुन्दलाई २५–२२, २९–२७ र २५–२० ले हरायो । ५ खेलमा १५ अंक बनाएको हेल्प नेपाल शीर्षस्थानमा छ ।

हेल्प नेपालले जत्तिकै १५ अंक जोडेको गण्डकी प्रदेश सेटको आधारमा दोस्रो स्थानमा छ । आज गण्डकी लगातार पाँचौं जित दर्ज गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । गण्डकी २५–१३, २५–२० र २५–२० ले विजयी भयो । पाँचौं हारमा सुदूरपश्चिम लिग चरणबाट बाहिरिने लगभग निश्चित छ ।

आजै त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पार्यो । आर्मीले कोशी प्रदेशलाई ३–१ ले हरायो । पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो । २१–२५ ले पहिलो सेट आर्मीले गुमायो । तर यसपछि २५–१९,२५–२१ र २५–२० ले लगातार तीन सेट जित्यो ।

यो आर्मीको तेस्रो जित हो । पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ । कोशीको यो चौथो हार हो। उसको ३ अंक रहेको छ ।
महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन् ।

रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो । चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गर्यो । यो जितमा पुलिसले २ अंक जोड्यो । ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ । ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ । उसले ४ खेलमा मात्र १ अंक बनाएको छ ।

आर्मीले एक खेल पनि जित्न सकेको छैन। सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५–१४, २५–७,२५–२० ले पराजित गर्यो ।

 

न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन् । बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ । नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्