काठमाडौँ, ९ जेठ । साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा सानदार सुरुवात गर्न सफल भएको छ ।
पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्यो ।
पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो । जहाँ हेल्प नेपाल ३०–२८ ले बाजी मार्न सफल भयो । १–० ले पछि परेको आर्मी खेलमा फर्कन सकेन । त्यसपछि दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले जित्दै हेल्प नेपालले सहज जित हात पार्यो ।
त्यसअघि बिहीबार भएको खेलमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित गर्यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीलाई माथ दिन सफल भएको हो । त्यसअघि आज भएको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो । त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ ।
पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी छन् ।
त्यसअघि एपिएफ क्लबलेकर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो । एपिएफले २५–१०,२५–१०, २५–१५ को सहज जित निकालेको हो ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्