काठमाडौं, २३ चैत ।तेस्रो संस्करणको एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ ।
तेस्रो खेलमा आएर अंकको खाता खोलेको पोखराले यो जितबाट महत्त्वपूर्ण ३ अंक जोडेको हो । यसअघि लगातार दुई खेल हारेको पोखरालाई जित्नैपर्ने दबाब थियो ।
शनिबार उसले पछिल्लो दुई खेलको हार मात्र होइन विवाद र तनावलाई बिर्सदै संगठित भएर खेल्दै जित दर्ता गर्यो ।
दशरथ रङ्गशालामा भएको खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईले करिब २० यार्ड टाढाबाट हानेको पावरफुल प्रहार क्रसबारमा लागेर फर्कियो । पोखराले राम्रो मौका गुमायो ।
सातौं मिनेटमा काठमाडौंले पनि सुनौलो मौका गुमायो । जिलेश्पी जङ्ग कार्कीको थ्रु पासमा भिन्सेन्ट कोजिएलोले अफ साईड ट्रयाप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहारलाई पोखराका गोल रक्षक प्रिसोले ब्लक गरे । रिबाउन्डमा अमसडो डियोपको प्रहारलाई गोल लाइन नजिकैबाट डिफेन्डरले बचाए ।
२२ औं मिनेटमा पोखराको प्रयासमा गोलरक्षक अभिषेक बराल बाधक बने । कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोल किपर अभिषेकले उत्कृष्ट बचावट गरे ।
तर २५ औं मिनेटमा भने अग्रता बनायो । पदम भट्टराईले थ्रो इन गरेको बलमा साइडोस्टन जाफारोले बललाई कन्ट्रोल गर्दै दिएको क्रसमा स्टेफन समिर बिनोङको हेडर सुन्दर गोलमा परिणत भयो । पोखराले १–० को अग्रता बनायो ।
३३ औं मिनेटमा पोखराले अग्रता दोब्बर गर्ने सुनौलो मौका गुमायो । काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन समिर बिनोङलाई बक्स भित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टीको अवसर प्रदान गरे । समिरले पेनाल्टी प्रहार गरे। तर गोल रक्षक अभिषेकले दाहिने पट्टी डाइभ गर्दै पेनाल्टी प्रहार रोके । पोखरा दोस्रो गोल गर्न चुक्यो ।
३९ औं मिनेटमा पोखराले अर्को मौका गुमायो । आयुष घलानको सटिक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो। पहिलो हाफमा पोखराले १–० को अग्रता बनायो ।
काठमाडौ दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । यता ५८ औं मिनेटमा पोखराले अग्रता बढायो । आयुषले डिफेन्डरलाई बिट गर्दे दिएको क्रसमा सुदिल राईको प्रहार काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो ।
२–० ले पछि परेको काठमाडौंले खेलको ८५ औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो । दिनेश हेन्जानको पासमा मोहम्मद बुया टुरेको हेडर क्रसबारमा लागेर फर्कियो । ८९ औं मिनेटमा जिलेश्पी जङ्ग कार्कीको प्रहार फेरि क्रसबारमा लागेर फर्कियो । काठमाडौले गोल गर्न नसक्दा पोखरा २–० को जित दर्ज गर्न सफल भयो ।
तेस्रो खेलमा पहिलो जित हात पारेको पोखराले ३ अंक बनाएको छ । पोखरा पहिलो खेलमा एफसी चितवनसँग २–० ले र दोस्रो खेलमा ललितपुरसँग तनावपूर्ण खेलमा २–१ ले पराजित भएको थियो ।
काठमाडौको यो पहिलो हार हो । तीन खेलबाट उससँग मात्र २ अंक छ । यसले काठमाडौंको प्ले अफ यात्रा निकै कठिन बनेको छ । काठमाडौ पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने झापा एफसीसँग गोल रहित बराबरीको नतिजा निकालेको थियो ।
आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्