राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ भने त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको छ ।

जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले एपिएफलाई पहिलोपटक पराजित गरेको हो । मधेसको जितमा रुपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए ।

पवन सर्राफले ६४ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रनको योगदान दिए । साथै अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए । एपिएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो । एपिएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए ।

कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए । त्यस्तै सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे । मधेस प्रदेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए ।

यसैगरी, त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् ।

ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्