वर्तमान सरकार बिचौलियाहरूको सरकार भएको अध्यक्ष प्रचण्डको आरोप

काठमाडौँ, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले लामो सङ्र्घ र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन ।

शनिबार प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलव्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने बताए ।

आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् । प्रचण्डले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन विरोधी सरकार भएको बताएका छन् ।

उनले अलिकति पनि राजनीतिक विवेक राख्ने र ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको बताए । उनले अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकर शाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाएका छन ।

अध्यक्ष प्रचण्डले भने– ‘देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ । एकातिर सडकमा लाखौँको सङ्ख्यामा आन्दोलनरत शिक्षकहरू छन् । झन्डै अब एक महिना हुन लाग्दैछ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ ।’

अध्यक्ष प्रचण्डले शिक्षकहरूसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरेका छन ।

अध्यक्ष प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताए । उनले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको जिकिर गरेका छन ।

अध्यक्ष प्रचण्डले अहिले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन् । उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए । उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन ।

बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ ।

त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु ।’ पृथक प्रसङ्गमा अध्यक्ष प्रचण्डले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन ।

यसैगरी, सोही कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताए । पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्यतथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।

प्रेस सेण्टरका पूर्वअध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर सङ्गठन अघि बढ्नुपर्ने सुझाउ दिएका छन । नवनिर्वाचित अध्यक्ष कमल गिरीले जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चारमाध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्