दसैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, २२ असोज । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताएका छन । ‘अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ’, उनले भने । यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताए । ‘अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ’, उनले भने । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्