पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूको श्रद्धाञ्जली

भ्याटिकन सिटी, ९ वैशाख (रासस/एएफपी) : क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ । विश्वभरका नेताहरूले उहाँको विनम्रता, करुणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसले सधैं युक्रेन र त्यहाँका जनताको शान्तिका लागि प्रार्थना गर्नुभएको सम्झना गर्दै गहिरो दुःख व्यक्त गर्नुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई बुद्धिमान, न्यायप्रिय र धार्मिक सहकार्यका पक्षपाती व्यक्तित्वका रूपमा वर्णन गर्नुभयो ।

बेलायती प्रधानमन्त्री केर स्टार्मरले पोपको नेतृत्व कठिन समयमा पनि साहसी र विनम्र रहँदै आएको बताउनुभयो भने राजा चाल्र्सले उहाँप्रति गहिरो श्रद्धा व्यक्त गर्दै भन्नुभयो, “उहाँले मानिस र प्रकृतिप्रतिको प्रेममार्फत धेरैको जीवनमा गहिरो प्रभाव पार्नुभयो ।”

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले वैचारिक भिन्नता हुँदाहुँदै पनि पोपको सौम्यता र बुद्धिमत्ताबाट आफू प्रेरित भएको बताउनुभयो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उहाँलाई सधैं पीडित र कमजोरहरूको पक्षमा उभिने करुणामय व्यक्तित्वका रूपमा सम्झिनुभयो ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले “यो मानवजातिका लागि गहिरो क्षतिको घडी हो” भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पोपलाई करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतिक बताउँदै भन्नुभयो, “उहाँसँगको भेट स्मरणीय रह्यो र उहाँको समावेशी तथा समग्र विकासप्रतिको दृष्टिकोणले मलाई गहिरो प्रेरणा दिएको छ ।”

इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगले पोपले यहूदी समुदायसँगको सम्बन्ध मजबुत पार्न महत्वपूर्ण योगदान दिएको स्मरण गर्नुभयो । फलस्तीनी राष्ट्रपति महमुद अब्बासले पोपलाई फलस्तीनी जनताको सच्चा मित्र भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

स्पेन, जर्मनी, इजिप्ट, केन्या, फिलिपिन्सलगायत विभिन्न देशका नेताहरूले पनि पोप फ्रान्सिसप्रतिको आफ्नो सम्मान, माया र प्रेरणालाई गहिरो भावनाका साथ अभिव्यक्त गरेका छन् ।

पोप फ्रान्सिसको सादगी, सहिष्णुता र सबैप्रतिको प्रेम भावले विश्वभरका करोडौँ मानिसको हृदय छुने काम गरेको छ । उहाँको दिव्य आत्माको चिर शान्तिको कामना गर्दै विश्व आज शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्