रूसीद्वारा युक्रेनसँगको लडाइँमा छोटो अवधिका लागि युद्धविराम घोषणा

मस्को, ७ वैशाख (रासस)एएफपी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको लडाइँमा छोटो अवधिका लागि युद्धविराम घोषणा गरेका छन्।

पुटिनले क्रेमलिनबाट सम्बोधन गर्दै स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म तीस घन्टाका लागि युद्धविराम घोषणा गरेका हुन्।

पुटिनले दुवै देशमा महत्वका साथ मनाइने इस्टर पर्वका अवसरमा युद्धविराम घोषणा गरिएको बताएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।

‘ रूसी समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म युद्धका सबै क्रियाकलाप रोकेका छौं,’ उनले भने।

पुटिनले युक्रेनले पनि त्यसलाई अबलम्बन गर्नुपर्ने बताए। युक्रेनले इस्टरको अवसरमा युद्ध रोक्छ कि रोक्दैन भन्ने कुराले युद्धविरामका लागि युक्रेन कति गम्भीर छ भन्ने दर्शाउने पुटिनले बताएका छन्।

‘युक्रेनले पनि हाम्रो उदाहरण पछ्याउँछ भन्ने विश्वास गरेका छौं। यसले उनीहरूले भन्दै आएका युद्धविरामका लागि कति संवेदनशील छ भन्ने पनि निर्धारण गर्छ,’ पुटिनले भनेका छन्।

Lev3Laxmi bank
यद्यपि शनिबार पुटिनले उक्त घोषणा गरेको केही बेरमै आफ्नो भूभागमा रूसी आक्रमण भएको आरोप युक्रेनी अधिकारीहरुले लगाएका छन्।

युक्रेनी सेनाको कमाण्डर इन् चिफले फ्रन्टलाइनमा लडिरहेका सेनामाथि आक्रमण भएको र रूसी तोपखानाहरुबाट लगातार बमबारी भइरहेको आरोप लगाएको सिएनएनले जनाएको छ।

Nchl
Ncell
किभले पनि पुटिनको घोषणाबारे प्रतिक्रिया दिएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले प्रस्ताव गरेको तीस दिनको युद्धविराम अस्वीकार नगरेर इस्टर मनाउन युद्धविराम गरिएको भन्ने घोषणा शंकास्पद रहेको बताए।

तर वास्तवमै रूस शान्त बस्छ भने युक्रेन पनि शान्त बस्ने जेलेन्स्कीले बताए।

‘यदी ऊ बिनाशर्त शान्त बस्छ भने युक्रेन पनि शान्त रहन्छ। यदी आक्रमण गर्छ भने युक्रेनले रक्षात्मक प्रत्याक्रमण गर्छ,’ जेलेन्स्कीको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

उनले इस्टरकै अवसर पारेर यसअघि प्रस्तावित ३० दिनको युद्धविराम गर्न पनि पुटिनलाई आग्रह गरेका छन्।

‘यसले रूसको भित्री मनशाय देखाउँछ। किनकी समाचारका हेडलाइनमा छाउनका लागि ३० घन्टा पर्याप्त होला तर वास्तविक विश्वास निर्माणका लागि हुँदैन,’ जेलेन्स्कीले भनेका छन्।

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रयास पनि बिफल भएको छ।

अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्तावलाई युक्रेनले सहजै स्वीकार गरे पनि पुटिन सहमत भएका छैनन्।

पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सिमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभागहरूमा आफ्नो स्वामित्व हुनुपर्ने माग गरेको छ।

अस्थायी युद्धविराम भए युक्रेनले सेनाको संख्या बढाउने र वार्ताका क्रममा धेरै माग राख्ने डर पुटिनलाई छ।

पुटिन युद्धविरामका लागि तयार नभएपछि ट्रम्प रिसाएर रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने चेतावनी दिएका थिए। युरोपेली मुलुकहरूले पनि रुसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका थिए। ‍

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युद्धविरामका लागि रूस केही दिनभित्र तयार नभए अमेरिका युक्रेनमा शान्ति स्थापना प्रयासबाट पछि हट्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्