विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी

 

काठमाडौँ, ११ चैत। विपक्षी चारदलीय समाजवादी मोर्चाद्वारा चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ छ ।

मोर्चाका सदस्य तथा नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष महिन्द्रराय यादवले आ–आफ्नै दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने गरी भागबन्डा गरिएको जानकारी दिए । यादवका अनुसार कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।

‘विरोध सभामा एक लाख मानिस काठमाडौँ आउने अनुमान गरेका छौँ । दलीय हिसाबले आ–आफ्नै हिसाबले जुलुसको नेतृत्व गर्नुहुन्छ । प्रतिगमनविरुद्धको लडाइँ भएकाले विशेषगरी बागमती प्रदेश र त्यस आसपासबाट कार्यकर्ता र समर्थक आउनुहुन्छ । त्यसबाहेक अन्य प्रदेशको हकमा आफूखुसी विरोध प्रदर्शनमा भाग लिनेछन्’, उनले भने ।

 

अर्का एक नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्