पुष्पराज स्मृति टेबल टेनिस सुरु

काठमाडौँ, २५ माघ : खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता आजदेखि शङ्खमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगितामा विभिन्न ६ विधामा एक सय ५० खेलाडी सहभागी छन् । पुरुष÷महिला एकल, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष एकलका खेल हुनेछन् । ललितपुर महानगरपालिका–११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ ।

प्रतियोगितामा पुरुष÷महिला एकलतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु सात हजार पाँच सय पुरस्कार पाउने छन् । बाँकी स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु दुई हजार पाँच सय पुरस्कार पाउने छन् ।

ललितपुर महानगरपालिका–११ को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा ललितपुर जिल्ला टेबलटेनिस सङ्घको प्राविधिक सहयोग, इलाभेन स्टार क्लब र इखाछें स्पोट्र्सले सहयोग गरेका छन् । ‘स्पिन इभेन्ट प्रालि’को व्यवस्थापनमा भइरहेको सो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । इञ्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौँ मेयर कप टेबलटेनिस भेट्रान स्पर्धामा खेल्ने क्रमम शाक्यको हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्