लुम्बिनी, ७ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार व्यवसायको वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
रुपन्देहीको तिलोत्तमामा आजदेखि सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय आर्थिक अवस्था सुधार हुँदा उद्योग, व्यवसायका क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेको बताउनुभयो । उहाँले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीमा आमन्त्रण गर्नुभएको हो ।
ुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको पनि उहाँले उल्लेख गर्नुभयो । “राज्यले लगानीको वातावरण बनाउँछ । तपाईंहरु निर्धक्क भएर लगानी गर्नुस्”, उहाँले भन्नुभयो, “सरकारले व्यवसायीहरुको संरक्षण र सम्वद्र्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।”
मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गर्नुभयो । तिलोत्तमा लुम्बिनीको मात्रै नभई देशकै उदाउँदो र नमुना सहरका रुपमा परिचित हुनु गौरवको विषय भएको उहाँको भनाइ छ । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय प्रदर्शनी कक्ष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्