मकवानपुर, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन । प्रेस सेन्टर मकवानपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताएका हुन ।
माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उनले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले देशमा व्याप्त भ्रष्टाचार र व्यथिति अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गरे । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उनले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्