फागुन २५ गतेबाट फिल्म ‘उपहार’ र फिल्म ‘रङ्गेली’ प्रदर्शनमा आउने

 

काठमाडौं, १९ माघ । फागुन २५ गतेबाट फिल्म ‘उपहार’ र फिल्म ‘रङ्गेली’ प्रदर्शनमा आउने भएका छन । महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘उपहार’को वियोगान्त भावको गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ ।

मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको छ ।गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । गीतले फिल्म पारिवारिक कथामा आधारित रहेको संकेत गर्छ । पूजा र बेनिशा रेखाको बहिनीको भूमिकामा हुनसक्ने देखिन्छ । फिल्ममा रेखाको मुकुन, पूजाको समर्पण जंग कार्की र बेनिशाको तेज गिरीसँग जोडी बाँधिएको छ । उनीहरुबीचको प्रेमलाई पनि गीतमा देखाउन खोजिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ आदिको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

यस्तै, फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मुटुको ४ आना’ बोलको लोक शैलीको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल नृत्य गर्दै प्रस्तुत छन् ।

फूलै फूलले सजाइएको सेटअपमा खिचिएको सार्वजनिक गीतमा किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, विनोद कुमार पौडेल लगायत पनि नृत्य गर्दै देखिएका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘उपहार’को यसअघि ‘वाह् वाह् वाह्’ गीत सार्वजनिक गरिएको थियो, जसलाई दुई महिनाको अवधिमा युट्युबमा मात्र ४१ लाख बढीले हेरिसकेका छन् ।

फिल्ममा मुकुन भुषाल, तेज गिरी, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल, रामचन्द्र अधिकारीलगायतको पनि अभिनय छ । यही फिल्मबाट समर्पणजंग कार्कीले अभिनेताको रुपमा डेब्यू गरेका छन् । उनी ‘मिस्टर नेपाल २०२३’को विजेता समेत हुन् । अभिनेत्री रेखा थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त निर्माण रहेको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेलसँगै बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । ‘उपहार’बाट रेखाले ५ वर्षपछि पुनरागमन गरेकी हुन् ।

यसैगरी, महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । अघिल्लो हप्ता सार्वजनिक भएको ‘हातैले उघाएर’ गीतमा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताएका छन् ।

प्रतिस्पर्धामा सहभागी हुनेमध्ये सबैभन्दा धेरै लाइक र भ्यूज प्राप्त गर्ने भिडियोमध्ये दुई जनाले स्मार्टफोन जित्नेछन् । त्यसका लागि भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया हुनुपर्ने र फिल्मको नामसहित प्रदर्शन मिति मेन्सन गर्नुपर्ने सर्त राखिएको छ । भिडियो यही माघ २७ गतेसम्ममा सामाजिक सञ्जालमा पोस्ट गरिसक्नुपर्नेछ । विजेताले फिल्मका कलाकारबाट स्मार्टफोन प्राप्त गर्नेछन् ।

गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले नृत्य गरेका छन् । दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय रहेको फिलमलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्