हिमाली जिल्ला बागलुङ, बाजुरा र हुम्लामा हिमपातले जनजीवन कष्टकर

काठमाडौँ, १९ माघ । हिमाली जिल्ला बागलुङ, बाजुरा र हुम्लामा हिमपात परेको छ । बिहीबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ ।

हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा सडक खुलाउन नसकिने बताए । शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ ।

उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ । उनले भने, ‘हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडी चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ ।’ यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए ।

यस्तै,बाजुरामा बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ । एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो । जिल्लाका नौवटै पालिकाका लेकाली र तल्लो क्षेत्रमा हिमपात हुन थालेको छ । पाँच महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका लेकाली उच्च लेकाली भेगमा भारी हिमपात भएको छ ।

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बँेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका र बूढीनन्दा नगरपालिका लगायतका उच्च हिमाली क्षेत्र यस वर्ष कात्तिक अन्तिम साताबाट सेताम्मे हुने चुचुरा केही वर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको जानकारी प्राप्त भएको छ । वर्षा र हिमपात भएपछि बस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन् ।

हिमपातका कारण सदरमुकाम मार्तडीलगायतका विद्यालयसमेत प्रभावित भएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै भारी हिमपात भएपछि खुसी भएका छन् ।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताए । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा पर्ने बडिमालिका र बूढीनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने यातायात सेवा प्रभावित भएको छ ।

यसैगरी, हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहीबार बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको किसान कर्ण बोहराले बताए ।

 

यस पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताए । हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौँपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाइ छ । खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको हो । स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उनको भनाइ छ ।

‘कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको छ’, किसान मुक्ति रावतले भने । किसान खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्यधिक बढेको बोहराले बताए । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्