पुस २७ बाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त

 

काठमाडौं, २५ पुस । पुस २७ बाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त भएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको धनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ले प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त गरेको हो । बाबु–छोरीको सम्बन्धको कथामा बनेको फिल्मको कथावस्तु र कलाकारको अभिनयको फिल्मकर्मीहरुले प्रिमियरमा प्रशंसा गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्मले आफूलाई ‘इमोसनल’ बनाएको बताएका छन् ।‘फिल्म रमाइलो बनेको छ । सन्देश पनि दिन्छ । पारिवारिक कथा छ । केही दृश्यमा म इमोसनल पनि भएँ,’ डेब्यू अभिनेता सन्तोष अधिकारीको तारिफमा उनले अगाडि भने– ‘सन्तोषको काम डेब्यू अभिनेताको जस्तो लाग्दैन । उहाँको परिपक्व अभिनय देखिन्छ । प्रमोद अग्रहरीको अभिनय पनि मनप¥यो ।’ मध्यान्तरपछि प्रिमियरमा पुगेका उनले समय मिलाएर फेरि पूरा फिल्म हेर्ने वाचा गरे ।

त्यस्तै, अभिनेत्री गौरी मल्लले फिल्मको कथा मनपरेको प्रतिक्रिया दिइन् । छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट उनी प्रभावित भएकी छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि आयुशी र सिम्रनको अभिनयको प्रशंसा गरिन् । निर्देशक नरेश पौड्यालले सन्तोष अधिकारीले फिल्ममा ‘इमोसन’मा विविधता दिएको भन्दै तारिफमा शब्द खर्चिए ।

प्रिमियरमा निर्देशकहरु दीपेन्द्र के खनाल, निर्मल शर्मा, लक्ष्मण सुवेदी, ज्ञानेन्द्र देउजा, नवल नेपाल, सुरज पाण्डे, निर्मात्री शर्मिला पाण्डे, लेखक प्रदीप भारद्वाज, अभिनेताहरु नरेन खड्का, रोहित रुम्बाको पनि उपस्थिति थियो । प्रिमियिरमा मिलेको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाइएको निर्देशक लामिछानेले बताएका छन् । दर्शकले पनि फिल्म रुचाउने उनको विश्वास छ ।

फिल्ममा अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’को एक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । फिल्मको निर्मातामा आशिष थापा मगर तथा कार्यकारी निर्मातामा अभिनेता अधिकारी स्वयं छन् ।

प्रतिक्रिया दिनुहोस्