पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँमा अल्ट्राम्याराथन प्रतियोगिता

 

तनहुँ, १९ पुस । खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकामा अल्ट्राम्याराथन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा तेस्रो ऋषिङ अल्ट्राम्याराथन हुन लागेको हो । यही पुस २७ गते ४३ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

खुला म्याराथनका लागि पुस २६ गतेसम्म नाम दर्ता गर्न सकिने उनले बताए । म्याराथनको आवश्यक तयारी सुरु गरिएको उनले बताए । म्याराथनको तयारीका लागि जाँचबिन्दु स्थापना गर्ने र प्राथमिक उपचारका लागि बाटो बाटोमा स्थान तय गर्ने काम सुरु गरिएको उनले बताए ।

एक किलोमिटरमा स्वयंसेवक र पाँच किलोमिटरमा प्राथमिक उपचार केन्द्र राखिनेछ । ती केन्द्रमा एक चिकित्सक, दुई नर्स र दुई अहेबसहितको स्वास्थ्यकर्मीको टोली रहने बताइएको छ ।

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुवुङकोट पुगेर टुङ्गिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने चार जनालाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

ऋषिङमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याराथन गर्दै आइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनले भने, ‘गाउँपालिकाका पर्यटकीयस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्, खेलकुदका माध्यमबाट ती ठाउँको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य हो ।’

गत वर्ष आयोजित प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका तीर्थराज तामाङले जितेका थिए । उक्त दूरी उनले दुई घण्टा ५१ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । त्यस्तै प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै देवराज महतारा द्वितीय (दुई घण्टा ५४ मिनेट २५ सेकेण्ड) र सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय (तीन घण्टा पाँच मिनेट ४६ सेकेण्ड) भएका थिए ।

प्रतिक्रिया दिनुहोस्