काठमाडौँ, ११ भदौ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा रहेको तिम्बुङ पोखरीलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनाउने उद्देश्यले तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । सिदिङ्वा गाउँपालिकामा आगामी भदौ २४ गते हुने प्रतियोगिताले यस वर्ष पुरस्कार राशि बढाउनुका साथै महिला र पुरुष धावकलाई समान पुरस्कार दिने भएको छ ।
तिम्बुङ पोखरी संरक्षण तथा संवद्र्धन समितिको आयोजनामा हुन लागेको प्रतियोगितालाई खेलकुदसँगै पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा अघि बढाउन खोजिएको छ । समितिका अध्यक्ष अमिर राईका अनुसार तिम्बुङ पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य, भौगोलिक विशेषता र स्थानीय संस्कृति देश तथा विदेशमा चिनाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको हो ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरिएको छ । खुल्लातर्फ प्रथम हुने धावकले ८३ हजार ५२५ रुपैयाँ, दोस्रोले ६३ हजार ५२५ रुपैयाँ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपैयाँ प्राप्त गर्नेछन् । उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
महिलातर्फ पनि खुल्लातर्फकै समान पुरस्कार व्यवस्था गरिएको छ । महिलातर्फ प्रथम हुनेले ८३ हजार ५२५ रुपैयाँ र दोस्रो हुनेले ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला सहभागिता बढाउने र महिला खेलाडीलाई समान अवसर दिने उद्देश्यले समान पुरस्कारको व्यवस्था गरिएको समितिको भनाइ छ ।
स्थानीय खेलाडीलाई समेत प्रतियोगितामा सहभागी गराउन छुट्टै विधा राखिएको छ । सिदिङ्वा गाउँपालिकाभित्रका बासिन्दाका लागि आयोजना हुने स्थानीयतर्फ प्रथम हुने खेलाडीले ३३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसले स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्नुका साथै आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष सहभागी गराउने अपेक्षा गरिएको छ ।
पहिलो र दोस्रो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि उल्लेख्य रूपमा बढाइएको हो । अघिल्ला संस्करणमा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ प्राप्त गरेका थिए । महिलातर्फ प्रथम हुनेलाई २५ हजार तथा स्थानीयतर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको कुल दूरी २१ किलोमिटर रहनेछ । समुद्री सतहबाट करिब चार हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रबाट सुरु हुने दौड पाङदुवा हुँदै ठुलो भञ्ज्याङसम्म पुगेर पूरा हुनेछ । उच्च हिमाली भूगोलमा हुने भएकाले प्रतियोगिताले साहसिक तथा प्राकृतिक पर्यटनमा रुचि राख्ने धावकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।
तिम्बुङ पोखरी क्षेत्रलाई पदमचाल अर्थात् केञ्जोको राजधानीका रूपमा समेत चिनाउने उद्देश्य आयोजकले राखेको छ । प्रतियोगितामार्फत पोखरीको प्राकृतिक तथा जैविक विविधता, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानलाई बाह्य पर्यटकमाझ पु¥याउने लक्ष्य लिइएको छ ।
ट्रेल रनसँगै क्षेत्रमा विभिन्न पर्यटन तथा सांस्कृतिक गतिविधि पनि सञ्चालन हुनेछन् । याक–चौंरी प्रदर्शनी, केलाङ नृत्य तथा पर्यटकीय क्षेत्रको भ्रमण कार्यक्रम राखिएको आयोजकले जनाएको छ । यसले प्रतियोगितामा सहभागी खेलाडी तथा आगन्तुकलाई खेलकुदसँगै स्थानीय संस्कृति र जीवनशैली अनुभव गर्ने अवसर दिनेछ ।
पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको योगदानलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले ताप्लेजुङ र पाँचथरका एक–एक पत्रकारलाई नभई एक जना पत्रकारलाई ३० हजार रुपैयाँको पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका माध्यमबाट तिम्बुङ पोखरीलाई खेलकुद, संस्कृति र प्रकृतिको संयोजन भएको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ ।
उच्च हिमाली क्षेत्रमा आयोजना हुने यस प्रतियोगिताले खेलाडीको शारीरिक क्षमता परीक्षणसँगै तिम्बुङ पोखरीको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा सीमित रहेको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउन खेलकुदलाई माध्यम बनाइएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्