अभिनेत्री शुभेक्षाको तेस्रो फिल्म ‘चित्रा’ पुष २७ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं, ८ पुस । अभिनेत्री शुभेक्षा खड्काको तेस्रो फिल्म ‘चित्रा’ यही पुष २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । सन् २०१२ की मिस नेपाल शुभेक्षा खड्का अभिनेत्रीको रुपमा स्थापित हुन अझै पनि संघर्षरत छिन् ।

उनले अभिनय गरेका दुईवटा फिल्म ‘रणवीर’ र ‘प्रेमा’ प्रदर्शनमा आइसकेको भए पनि दुवै व्यावसायिक रुपमा सफल भएनन् । उनले अभिनयमा पनि आफ्नो छाप छाड्न सकेकी छैनन् । अब उनले अभिनय गरेको तेस्रो फिल्म ‘चित्रा’ यही पुष २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

उनले फिल्ममा आफू ‘ट्विस्ट’ ल्याउने पात्रमा रहेको बताएकी छन् । उनी भन्छिन्, ‘यो एउटा फ्रेस पात्र हो, जसले फिल्ममा रमाइलो ल्याउने काम गर्छ । फिल्मले बाबु–छोरीको कथा देखाइएको छ, त्यसमा मैले निभाएको पात्रले मसलाको काम गरेको छ । हेर्दा पात्र सरल देखिन्छ तर ट्विस्ट ल्याउने पात्रको रुपमा मलाई पाउन सकिन्छ ।’ शुभेक्षा फिल्ममा आफ्नो कामबाट सन्तुष्ट देखिएकी छन् ।

‘चित्रा’बाट दर्शकले फरक स्वाद पाउने उनको विश्वास छ । ‘हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं । अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’ चाहिँ पारिवारिक कथा हो, जसले बाबु–छोरीको कथा देखाउँछ । मैले पर्दामा बाबु–छोरीमा केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो । यसले गर्दा यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ,’ उनले भनिन् ।

उनको बुझाईमा बुबाहरुको साथ नै छोरीहरुका लागि मेरुदण्ड हो । छोरीको पढाई र करिअरमा बुबा–आमा सहयोगी बन्न सकेको अवस्थामा त्यो सबैभन्दा महत्त्वपूर्ण हुने उनी बताउँछिन् । उनले आफ्नो बुबालाई भने प्रेरणाको रुपमा लिने गरेकी छन् । शुभेक्षा भन्छिन्, ‘मलाई राम्रो फिल्महरु खेल्नुपर्छ भनेर बुबाले प्रेरणा र भरोसा दिने गर्नुहुन्छ । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ ।’

फिल्ममा शुभेक्षासँगै सन्तोष अधिकारी, मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अञ्जना बराइली, सिम्रन खड्का, विनोद पौडेल, प्रकाश घिमिरे, कपिल शर्मा, कुमार गुरुङ, आयुशी ढकाल, उज्ज्वल ढकालको पनि अभिनय छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन छ ।

प्रतिक्रिया दिनुहोस्