हमासको अपहरणमा परेका जोशीको सकुशल रिहाइको प्रयास

 

काठमाडौँ, ८ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन ।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले जोशीको सकुशल मुक्तिका लागि प्रयास गरिरहेको बताएका हुन । परराष्ट्रमन्त्री साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।

‘प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ’, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पु¥याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विदेशिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यामले गहन प्रस्तुत गरेकामा आभार व्यक्त गरे । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौँ युवा मुलुकबाट बाहिरिएका भन्दै उनीहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्