राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य

महोत्तरी, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति केन्द्रिय सदस्य रहने छन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रिय सदस्यको सङ्ख्या ६० पुगेको छ । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो ।

रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको छ । ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ पारित प्रस्तावनामा भनिएको छ । प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ ।

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी – अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख गरिएको छ । १७ जनाको प्रतिनिधिमण्डल रास्वपाको दस्तावेज निर्माणमा जुटिरहेको छ ।

बैठकले पूर्ण दस्तावेज पारित नगरी प्रस्तावना मात्रै पारित गरेको छ । रास्वपा सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने प्रतिबद्धतासहित वैचारिक कार्यदिशा तयगरेको छ । उसले बहुलवादी लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्धता जनाउँदै प्रस्तावना पारित गरेको हो ।

‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो,’ बुधबार पारित गरिएको दस्तावेजमा भनिएको छ, ‘लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दीगो परिचालन गर्दै उद्यममैत्री, लगानी – अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पूँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ ।’

रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गरेको छ ।

‘अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ प्रस्तावनामा उल्लेख छ ।

यस्तै, नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्त्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने बताइएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक केही बेरमा सकिने बताइएको छ । स्वर्णिम वाग्ले, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्य थियो । मोहन थापा ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्