प्यालेस्टिनीको पूर्ण अधिकार बिना मध्यपूर्वमा शान्ति हुँदैन: अब्बास

संयुक्त राष्ट्रसङ्घ, ५ असोज (रासस/सिन्ह्वा) । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनीहरूले आफ्नो वैध अधिकार पूर्ण रूपमा उपभोग गर्न नसक्दासम्म मध्यपूर्वमा शान्ति कायम नहुने बताउनुभएको छ । “प्यालेस्टिनी जनताले आफ्नो वैधानिक राष्ट्रिय अधिकारको पूर्ण उपभोग नगरी मध्यपूर्वमा शान्ति कायम गर्न सकिन्छ भन्ने सोच्नेहरू गलत हुनेछन्,” अब्बासले संयुक्त राष्ट्रसङ्घको महासभाको ७८औँ अधिवेशनको सामान्य बहसमा भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनको पूर्ण सदस्यताका लागि आह्वान गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले पर्यवेक्षक राष्ट्रको रूपमा स्वीकारेको प्यालेस्टाइन राज्यलाई मान्यता दिन अमेरिका र युरोपेली राष्ट्रहरूसमेत केही देशहरू अनिच्छुक छन् भन्ने कुरा म न त बुझ्न सक्छु, न त स्वीकार्न सक्छु । उहाँले अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न आग्रह गर्नुभयो ।

यसमा मध्यपूर्वमा शान्ति स्थापनासँग सम्बन्धित सबै देशले भाग लिनेछन् । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्मेलनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ र महासचिवलाई प्यालेस्टिनी जनतालाई सुरक्षा प्रदान गर्न सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्न पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “इजरायलले दुई–राज्य विवाद समाधानको व्यवस्थित उल्लङ्घन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रत्येक सदस्य राष्ट्रलाई आफ्नो राष्ट्रिय क्षमतामा, सान्दर्भिक प्रस्तावहरूको आधारमा व्यावहारिक कदम चाल्न आह्वान गर्नु आवश्यक भएको छ ।” यस सन्दर्भमा थप तर्क राख्दै उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश के हो भने राष्ट्रसङ्घले पूर्ण साहसका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ र प्यालेस्टाइनी अधिकारलाई साकार पार्ने सम्बन्धी प्रस्तावहरू कार्यान्वयन गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्