कोशी प्रदेशको मुद्दा: भोलिका लागि तोकियो पेशी

Supreme Court

कोशी प्रदेशको मुद्दामा सबै वकिलको बहस सकिए पनि भोलि पनि पेशी तोकिएको छ ।

बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सबै वकिलले बहस गर्न सकाए पनि बिहीबारका लागि पनि पेशी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

बहस सके पनि यसमाथि आदेश आउन बाँकी छ। आदेशबारे पनि भोलि बस्ने इजलासले निर्णय गर्नेछ ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्