एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

धनकुटा, २९ मंसिर । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाको लेगुवामा एक जनाले मुक्का प्रहार गरेका छन् । बिहीबार भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो ।

उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् । एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले मुक्का हान्नुको कारण खुलेको छैन ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए । ‘उनले मादक पदार्थ सेवन गरेको पाइएको छ,’ उनले भने, ‘कुनै राजनीतिक कार्यकर्ता होइनन् । उनलाई नियन्त्रणमा लिइएको छ ।’

महालक्ष्मी–५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्