पत्रकार पक्राउको विरोधमा मौन प्रदर्शन, प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग

काठमाडौँ, १४ कात्तिक । सञ्चारकर्मी पक्राउ तथा सञ्चारगृहमा प्रहरीको धरपकड भएको घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकारहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रता सुनिश्चित गर्न र पत्रकारलाई निर्बाध रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन माग गर्दै पत्रकारहरूले वर्षामा भिजेरै मौन प्रदर्शन गरेका हुन् ।

शनिबार भएको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतले सम्बोधन गरेका थिए । सञ्चारकर्मीलाई नियन्त्रणमा लिने र सञ्चारगृहमा प्रहरी पुग्ने घटनाले प्रेस स्वतन्त्रता तथा पत्रकारको पेसागत सुरक्षाबारे प्रश्न उठाएको भन्दै प्रदर्शनकारीहरूले सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।

शुक्रबार सादा पोसाकमा रहेका प्रहरी विभिन्न सञ्चारगृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए । घटनाप्रति चौतर्फी विरोध भएपछि नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई सोही दिन साँझ रिहा गरिएको थियो । विश्वमणि सुवेदीसहित तीन छुट्टाछुट्टै सञ्चारमाध्यमका सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको थियो भने अन्य केही सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिने प्रयाससमेत भएको थियो ।

पत्रकार पक्राउको घटनाले सञ्चारमाध्यममा प्रकाशित समाचार र त्यसप्रति राज्यका सुरक्षा निकायले अपनाउने व्यवहारबारे बहस सिर्जना गरेको छ । सञ्चारकर्मीले आफ्नो पेसागत धर्म निर्वाह गर्ने क्रममा पक्राउ वा अवरोधको सामना गर्नुपर्ने अवस्था आउनु प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारसँग सम्बन्धित विषय हो ।

केही दिनअघि बिचौलियाको आरोप लागेका इनम सापकोटा र नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । यही विषयसँग जोडेर प्रधानमन्त्रीको सचिवालयले आईजीपीको राजीनामा माग गरेको भन्ने विवरणसमेत सञ्चारमाध्यममा आएका थिए ।

यसै पृष्ठभूमिमा नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी नेतृत्व र सङ्गठनबारे भ्रम फैलाउने कार्य भएको जिकिर गरेको थियो । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत प्रहरीले दिएको थियो ।

त्यसको भोलिपल्ट विभिन्न सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिइएपछि प्रहरीको कदममाथि थप प्रश्न उठेका छन ।यसैगरी,पत्रकार पक्राउको घटनाको भोलिपल्ट शनिबार नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

प्रहरीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेको छ । सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरिएको जनाउँदै नेपाल प्रहरीले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने विषयमा हरसम्भव सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

प्रहरीको उक्त भनाइ पत्रकार पक्राउको घटनापछि सार्वजनिक भएको हो । एकातिर प्रहरी नेतृत्व र सङ्गठनबारे भ्रम फैलाइएको भन्दै कारबाहीको चेतावनी दिइएको थियो भने अर्कोतिर सञ्चारकर्मीको निष्पक्ष रिपोर्टिङ र सञ्चारकर्ममा अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले समाचारको सत्यता परीक्षण र कानुनी प्रक्रियालाई सम्मान गर्दै पत्रकारलाई पेसागत जिम्मेवारी निर्वाह गर्न दिनुपर्ने विषयलाई थप महत्त्वपूर्ण बनाएको छ ।

लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता नागरिकलाई सही सूचना प्राप्त गर्ने अवसरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । सार्वजनिक पदमा रहेका व्यक्ति, सरकारी निकाय र सुरक्षा सङ्गठनसँग सम्बन्धित विषयमा समाचार संकलन तथा प्रकाशन गर्नु पत्रकारिताको नियमित जिम्मेवारी हो । तर, यस्तो जिम्मेवारी निर्वाह गर्दा तथ्यको पुष्टि, सन्तुलित प्रस्तुति र सम्बन्धित पक्षको प्रतिक्रिया समेट्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

त्यसैगरी, कुनै समाचारप्रति असहमति वा आपत्ति भए सम्बन्धित निकायले तथ्य र प्रमाणका आधारमा स्पष्टीकरण दिनु तथा आवश्यक कानुनी प्रक्रिया अपनाउनु उपयुक्त हुन्छ । समाचारकै कारण पत्रकारलाई नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भए त्यसको कानुनी आधार, प्रक्रिया र उद्देश्य स्पष्ट हुनुपर्छ । पत्रकारले पनि अपुष्ट सूचना सम्प्रेषण नगर्ने र सार्वजनिक हितका विषयमा जिम्मेवार रिपोर्टिङ गर्ने दायित्व निर्वाह गर्नुपर्छ ।

माइतीघरमा भएको प्रदर्शनले पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र सार्वजनिक निकायको जवाफदेहिताबारे उठेका प्रश्नलाई पुनः सतहमा ल्याएको छ । पक्राउ परेका सञ्चारकर्मीलाई रिहा गरिए पनि घटनाको कारण, प्रहरीको कारबाहीको आधार र सञ्चारकर्मीले भोगेको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक हुनु आवश्यक छ ।

प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु पत्रकारको मात्र सरोकार होइन; यो नागरिकको सुसूचित हुने अधिकार र सार्वजनिक संस्थाप्रतिको विश्वाससँग पनि जोडिएको विषय हो । त्यसैले सञ्चारकर्मीले निर्भीक तथा तथ्यपरक पत्रकारिता गर्न पाउने वातावरण निर्माण गर्नु र पत्रकारिताका क्रममा उठेका प्रश्नको जवाफ पारदर्शी रूपमा दिनु सम्बन्धित सबै पक्षको साझा दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्