उर्लाबारी, २१ असोज । निर्णायक क्षणमा गोलरक्षक योगेश धिमालले उत्कृष्ट प्रदर्शन गरेपछि झापा–११ ले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको क्वार्टरफाइनलमा ललितपुरको थ्री स्टार क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा–११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि विजेताको टुंगो लाग्न सकेन । २–२ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापा–११ का गोलरक्षक धिमालले थ्री स्टारका दुई प्रहार रोक्दै आफ्नो टोलीलाई रोमाञ्चक जित दिलाए ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रमणलाई प्राथमिकता दिएका थिए । ३२औँ मिनेटमा प्रताप चाम्लिङ राईले गोल गर्दै झापा–११ लाई सुरुवाती अग्रता दिलाए । अग्रता लिएपछि झापा–११ केही समय खेलमा हाबी देखिए पनि थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन ग¥यो ।
५७औँ मिनेटमा मिलन चाम्लिङ राईले गोल गर्दै थ्री स्टारलाई १–१ को बराबरीमा ल्याए । त्यसको केही समयपछि ६३औँ मिनेटमा क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले २–१ को अग्रता बनायो ।
एक गोलले पछि परेको अवस्थामा झापा–११ ले भने हार मानेन । उसले निरन्तर आक्रमण गर्दै खेलमा फर्किने प्रयास ग¥यो । त्यसको परिणाम ७६औँ मिनेटमा आयो । रोमन भुजेलले गोल गर्दै झापा–११ लाई २–२ को बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरतर्फ मोडियो ।
टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गरे । थ्री स्टारका तर्फबाट सागर तिवारी, दोर्जे तामाङ र दिवश उराउले गोल गरे । तर, सुजन चौधरी र लेकन राईको प्रहार झापा–११ का गोलरक्षक धिमालले रोकेपछि थ्री स्टारको सेमिफाइनल यात्रा रोकियो ।
निर्णायक समयमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका धिमाल खेलको म्यान अफ द म्याच घोषित भए । निर्धारित समयको बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा गोलरक्षकको भूमिका निर्णायक बन्न पुग्यो । धिमालका दुई बचाउले झापा–११ लाई अन्तिम चारमा पु¥याउन महत्वपूर्ण योगदान ग¥यो ।
कठिन जितसँगै सेमिफाइनलमा पुगेको झापा–११ ले अब फाइनल प्रवेशका लागि भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा यसअघि पनि युकेएफसीले प्रभावशाली प्रदर्शन गरिसकेको छ । त्यसैले झापा–११ का लागि फाइनल प्रवेशको यात्रा थप चुनौतीपूर्ण हुने देखिएको छ ।
गोल्डकपअन्तर्गत मंगलबार अर्को क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ । अन्तिम चारमा स्थान बनाइसकेको झापा–११ भने थ्री स्टारविरुद्धको जितबाट प्राप्त आत्मविश्वासका साथ युकेएफसीविरुद्ध मैदान उत्रने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्