नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय पत्रकार तथा सञ्चारकर्मी सन्दीप पौड्याल हालै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ अन्तर्गत पत्रकारिता अवार्डबाट सम्मानित हुनुभएको छ । यमन इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंमा आयोजित विशेष समारोहमा पौड्याललाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
पत्रकारितालाई मूल कर्मका रूपमा अघि बढाउँदै उहाँले सञ्चार, गीतसंगीत, वृत्तचित्र निर्माण, सामाजिक तथा सांस्कृतिक विषयको खोज–अनुसन्धानलगायतका क्षेत्रमा समेत आफ्नो सक्रियता विस्तार गर्दै आउनुभएको छ । हाल हिमालय टाइम्स दैनिकका उपसम्पादक तथा ई–हिमालय टाइम्सका सम्पादकका रूपमा कार्यरत पौड्यालसँग पत्रकारिताको लामो अनुभव छ । उहाँले ईमेज टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा रहेर समाचार लेखन, सम्पादन तथा सामग्री उत्पादनका क्षेत्रमा काम गर्नुभएको छ ।
पत्रकारितासँगै गीत लेखनमा रुचि राख्ने पौड्यालले थकाली समुदायको डकमेन्ट्री लेख्नुभएको छ भने पर्यटन, खानेपानी, सरसफाई तथा बालबालिका सम्बन्धी वृत्तचित्र निर्माण गर्नुभएको छ । उहाँले परेवा उडान प्रतियोगितामा सहभागी हुँदै यस विषयमा खोज तथा अनुसन्धानसमेत गर्दै आउनुभएको छ र परेवासम्बन्धी पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ । यसै सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मी सन्दीप पौड्यालसँग गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश–
तपाईंलाई हालै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ अन्तर्गत पत्रकारिता अवार्ड प्रदान गरिएको छ । यो सम्मानलाई कसरी लिनुभएको छ ?
यो सम्मान मेरा लागि खुसीसँगै जिम्मेवारीको विषय पनि हो । पत्रकारितामा लामो समयदेखि निरन्तर काम गर्दै आएको छु । मैले गरेको कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरिनु आफैँमा उत्साहको विषय हो । अवार्ड पाउँदा व्यक्तिगत रूपमा खुसी लागेको छ । तर, त्यसभन्दा महत्वपूर्ण कुरा यसले पत्रकारितामा अझ जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने अनुभूति गराएको छ । पत्रकारिता निरन्तर सिक्ने, आफूलाई परिमार्जन गर्ने र समाजप्रति उत्तरदायी भएर काम गर्ने क्षेत्र हो । त्यसैले यो सम्मानलाई मैले आफ्नो यात्राको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छु, तर यात्राको अन्त्यका रूपमा होइन ।
तपाईं दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ । यो यात्रालाई कसरी सम्झनुहुन्छ ?
पत्रकारिता क्षेत्रमा प्रवेश गर्दाको समय र अहिलेको अवस्था निकै फरक छ । प्रविधि, सञ्चारमाध्यम र पाठकको समाचार उपभोग गर्ने शैली सबै परिवर्तन भएको छ । तर, पत्रकारिताको मूल जिम्मेवारी भने उही हो, सत्य र तथ्यमा आधारित सूचना समाजसम्म पु¥याउनु । मैले विभिन्न सञ्चारमाध्यममा फरक–फरक जिम्मेवारीमा काम गर्ने अवसर पाए । समाचार लेखनदेखि सम्पादन र सामग्री उत्पादनसम्मका काम गरें । यस क्रममा धेरै मानिससँग भेट भयो, धेरै विषय बुझ्ने अवसर पाए र समाजका विभिन्न तहलाई नजिकबाट नियाल्ने मौका मिल्यो ।
पत्रकारिताले मलाई निरन्तर सिकाएको छ । कुनै एउटा समाचार वा सामग्री तयार गर्नु मात्र पत्रकारिता होइन, त्यसका पछाडि रहेको सामाजिक सन्दर्भ बुझ्नु, तथ्य खोज्नु र पाठकलाई विश्वसनीय सूचना दिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । म आफूलाई ‘व्याक बोन’को रूपमा विश्लेषण गर्छु । मेरुदण्ड बलियो भयो भने शरीर आफैँ स्वस्थ्य हुन्छ भन्ने मेरो धारणा हो । मैले हालसम्म जति काम गरें, फ्रन्टमा कहिले देखिन चाहना भएन । त्यसैले पनि होला अझै यस क्षेत्रमा म नयाँ नै छु जस्तो लाग्छ ।
अहिले तपाईं हिमालय टाइम्स दैनिकको उपसम्पादक तथा ई–हिमालय टाइम्सको सम्पादकका रूपमा काम गरिरहनुभएको छ । वर्तमान जिम्मेवारी कस्तो छ ?
सञ्चारमाध्यममा जिम्मेवारीअनुसार कामको प्रकृति फरक हुन्छ । अहिलेको समयमा छापा र डिजिटल दुवै माध्यमलाई सँगसँगै अघि बढाउनुपर्ने अवस्था छ । पाठकको रुचि र समाचार ग्रहण गर्ने शैली परिवर्तन भइरहेको छ । लामो समय टेलिभिजनमा रहेर काम गरेको म, एकाएक पत्रिकामा आउँदा शुरुमा केही अÇठ्यारो महशुश पनि भएको थियो । तर, आफूमा क्षमता छ भने त्यो समय अनुसार सहज बन्दै जाने रहेछ । सम्पादनको जिम्मेवारीमा रहँदा समाचारको भाषा, तथ्य, प्रस्तुति र सान्दर्भिकतामा ध्यान दिनुपर्छ ।
डिजिटल माध्यममा त सूचना अझ छिटो पुग्ने भएकाले तथ्य परीक्षण र जिम्मेवार सम्पादनको महत्व झनै बढी हुन्छ । मेरो प्रयास सधैं समाचार तथा सामग्रीलाई तथ्यपरक, सन्तुलित र पाठकमैत्री बनाउनेतर्फ हुन्छ ।
पत्रकारितासँगै तपाईं गीतसंगीतमा पनि सक्रिय हुनुहुन्छ । यी क्षेत्रमा जाने प्रेरणा कहाँबाट आयो ?
पत्रकारिताले समाजका विभिन्न विषयसँग नजिक बनाउँछ । समाजमा देखिने, तर धेरैपटक समाचारका रूपमा पर्याप्त स्थान नपाउने विषयहरू पनि हुन्छन् । त्यस्ता विषयलाई फरक माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो । गीतसंगीत एउटा सिर्जनात्मक माध्यम हो । गीत लेखन मेरो रूची हो । स्कुल पढ्दादेखिनै म केही न केही सृजना गरिरहन्थे ।
पछि कलेज पढ्ने बेला २०६० सालतिर तीन वटा गीत पनि आफ्नै आबाजमा निकालेको थिए । अनुभवको कमीले होला त्यो सोचे अनुसारको भएन । पछि जागिरको सिलसिलामा काठमाडौं बाहिरै धेरै बस्नुप¥यो, पछि फर्केर काठमाडौं आएपछि पत्रकारितामै पूर्ण रूपमा समर्पित छु ।
तपाइँ त मोडल पनि हुनुहुन्छ । फिलिम खेलौं भन्ने लागेन ?
हो मेरो अर्को पाटो मोडलिङ पनि हो । यो धेरैलाई थाहा छैन । २०६० साल अगाडी म धेरै ¥याम्पमा पनि हिडेको छु । पछि केही साथीहरू मिलेर ‘इन स्टाइल प्रोडक्सन’ नामक मोडलिङ एजेन्सी पनि खोल्यौं । त्यहीबाट हामीले धेरै कार्यक्रम पनि गरेका थियौं । तर, त्यो समयमा माओवादी द्वन्द्वका कारण राति ढिलोसम्म काम गर्न गाह्रो भयो ।
डरैडरमा काम गर्ने वातावरण नभएपछि मैले मोडलिङ नै छाडे । तपाइँले भनेजस्तै मैले फिलिममा काम गर्ने प्रयास पनि गरे, तर आफूमा धैर्यता नहुँदा त्यसलाई पुरा गर्न सकिन । सानो पर्दाका टेलिफिलिम र धेरै नाटकहरूमा अभिनय भने गरेको छु । केही म्युजिक भिडियोमा खेलेको पनि छु । अझै पनि ठूलो पर्दामा खेल्ने इच्छा भने बाँकी छ ।
तपाइँ आफैँ क्यामरा चलाउनुहुन्छ, एडिटिङ गर्नुहुन्छ, लेख्नुहुन्छ, कार्यक्रम चलाउनुभएको छ, लेखन शैलीमा पनि उत्तिकै अब्बल हुनुहुन्छ, एक व्यक्तिभित्र यत्रो गुण कहाँबाट आयो ?
तपाइँले सोधेको प्रश्नको जबाफमा म यतिनै भन्न चाहन्छु, कुनै पनि पेशाप्रति तपाइँ इमान्दार हुनुहुन्छ र लगन छ भने यो सब कुरा आफैँ आउँछ । क्यामरा चलाउनु र एडिटिङ गर्नु मेरो शोख हो भने लेखन भाषाको खेल हो । तपाइँ भाषालाई कसरी बगाउनु हुन्छ, त्यो त्यही अनुसारको हुने हो । तर, तपाइँ जुन पेशामा आबद्ध हुनुहुन्छ नि त्यसमा इमान्दारिता भने हुनै पर्छ ।
डकुमेन्ट्रीतिर पनि तपाइँ सक्रिय हुनुहुन्छ, के–के गर्नुभएको छ ?
नेपाल विविध समुदाय, संस्कृति र परम्पराले बनेको देश हो । तर, धेरै समुदायका मौलिक संस्कृति, परम्परा र जीवनशैली पर्याप्त रूपमा अभिलेखीकृत हुन सकेका छैनन् । ‘डकुमेन्ट्री’ ले तपाइँलाई त्यो समाजको जडसम्म पु¥याउन मद्धत गर्छ । मैले थकाली समुदायसँग सम्बन्धित ‘डकुमेन्ट्री’ लेख्ने अवसर पाएको थिए । जसले मलाइँ त्यो समुदायलाई नजिकबाट चिन्ने अवसर प्रदान ग¥यो । यस्तै पर्यटन क्षेत्रको बिषयमा लेख्न मलाइ सबैभन्दा मन पर्छ ।
त्यही भएर होला देशका बिभिन्न क्षेत्रमा पुगेर यस सम्बन्धी ‘डकुमेन्ट्री’ र समाचार मैले लेखेको छु । खानेपानी, सरसफाई तथा बालबालिका सम्बन्धी वृत्तचित्र निर्माण गरेको छु । वृत्तचित्र वा लेखनमार्फत यस्ता विषयलाई दस्तावेजका रूपमा सुरक्षित राख्न सकिन्छ भन्ने मेरो सोच हो ।
तपाईंले विदेशी संस्था आइटीसीमा पनि काम गर्नुभएको रहेछ । त्यो अनुभव कस्तो रह्यो ?
आइटीसीमा काम गर्ने क्रममा सञ्चारको फरक पाटो बुझ्ने अवसर पाए । त्यसै क्रममा आइटीसीको लगानीमा रेडियो कार्यक्रम ‘कफीका कुरा’ पनि लामो समय सञ्चालन गरें । रेडियो आफैंमा निकै प्रभावकारी सञ्चारमाध्यम हो । रेडियो कार्यक्रम सञ्चालन गर्दा श्रोतासँग प्रत्यक्ष संवाद हुने भएकाले विषयलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास हुन्छ । त्यो अनुभव मेरो सञ्चार यात्राका लागि निकै उपयोगी रह्यो ।
गैरसरकारी क्षेत्रमा पनि तपाईंको अनुभव रहेछ नि ?
हो, ‘स्याण्डस नेपाल’मा रहेर गरिबी निवारण कोष तथा खानेपानी क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजनामा काम गर्ने अवसर पाए । पत्रकारिताभन्दा बाहिरका क्षेत्रमा काम गर्दा समाजका समस्या र विकासका मुद्दालाई अर्को कोणबाट बुझ्न सकिन्छ । सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिका लागि यस्तो अनुभव निकै उपयोगी हुन्छ । यसले समाचार वा सामग्री तयार गर्दा विषयलाई सतही रूपमा मात्र होइन, त्यसको सामाजिक र व्यावहारिक पक्षबाट पनि बुझ्न सहयोग गर्छ ।
तपाईंले इमेज टेलिभिजनलगायतका सञ्चारमाध्यममा पनि लामो समय काम गर्नुभएको छ । टेलिभिजन पत्रकारिताको अनुभव कस्तो रह्यो ?
टेलिभिजनमा काम गर्नु निकै फरक अनुभव हो । छापा पत्रकारितामा शब्दमार्फत विषय प्रस्तुत गरिन्छ भने टेलिभिजनमा दृश्य, आवाज र शब्द तीनवटै महत्वपूर्ण हुन्छन् । इमेज टेलिभिजनमा काम गर्दा समाचार उत्पादनको प्रक्रिया, समय व्यवस्थापन र दृश्य सामग्रीको महत्वलाई नजिकबाट बुझ्ने अवसर पाएँ । प्रत्यक्ष प्रसारण तथा टेलिभिजन सामग्री निर्माणमा समयको दबाब पनि हुन्छ । त्यसैले छोटो समयमा सही सूचना संकलन र प्रभावकारी प्रस्तुति गर्न सक्ने क्षमता विकास गर्नुपर्छ ।
तपाईं परेवा उडान प्रतियोगितामा पनि सहभागी हुनुभएको छ । यो अलि फरक रुचि हो नि ?
हो, यो मेरो फरक खालको रुचि हो । परेवाको विषयमा मेरो रुचि बढ्दै गएपछि नेपालमा हुने परेवा उडान प्रतियोगिता र यससँग जोडिएका गतिविधिबारे जान्ने र बुझ्ने प्रयास गरें । यस क्रममा परेवा पाल्ने मानिस, प्रतियोगितामा सहभागी हुने व्यक्ति तथा यससँग जोडिएको समुदायसँग भेटघाट गर्ने अवसर पाए ।
त्यसपछि यो केवल मनोरञ्जन वा प्रतियोगिताको विषय मात्र होइन, यसको आफ्नै इतिहास, संस्कृति र अभ्यास रहेछ भन्ने बुझें । त्यसैले यस विषयमा खोज–अनुसन्धानलाई अगाडि बढाएको छु । अहिले परेवासम्बन्धी पुस्तक प्रकाशनको तयारी पनि गरिरहेको छु ।
पत्रकार, सम्पादक, गीतकार, वृत्तचित्र निर्माता र अनुसन्धानकर्ताका रूपमा तपाईंका धेरै आयाम देखिन्छन् । यी सबैलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
समय व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । तर, यी सबै काम एकअर्काबाट पूर्ण रूपमा अलग छैनन् । पत्रकारिताले मलाई विषय खोज्न सिकाएको छ । लेखनले विचारलाई शब्दमा व्यक्त गर्न सिकाएको छ । वृत्तचित्रले दृश्य माध्यमबाट कथा भन्न सिकाएको छ । गीतले भावनालाई सिर्जनात्मक रूपमा व्यक्त गर्ने अवसर दिएको छ । त्यसैले एउटा क्षेत्रबाट प्राप्त अनुभव अर्को क्षेत्रमा पनि उपयोगी हुन्छ । मूल कुरा भनेको आफ्नो रुचिको विषयमा निरन्तर काम गरिरहनु हो ।
आजको पत्रकारितामा तपाईंले देख्नुभएको सबैभन्दा ठूलो परिवर्तन के हो ?
प्रविधिले पत्रकारिताको स्वरूप नै परिवर्तन गरिदिएको छ । पहिले समाचार तयार पार्न र पाठकसम्म पु¥याउन निश्चित प्रक्रिया र समय लाग्थ्यो । अहिले मोबाइल फोनबाटै समाचार तयार भएर केही मिनेटमै संसारभर पुग्न सक्छ । तर, सूचना छिटो पुग्नु मात्र पत्रकारिताको सफलता होइन । सूचनाको विश्वसनीयता अझ महत्वपूर्ण हुन्छ । सामाजिक सञ्जालका कारण गलत सूचना र अपुष्ट सामग्री पनि तीव्र रूपमा फैलिन सक्छन् । त्यसैले आज पत्रकारको जिम्मेवारी पहिलेभन्दा कम भएको होइन, अझ बढेको छ ।
डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बीच छापा पत्रकारिताको भविष्यलाई कसरी हेर्नुहुन्छ ?
माध्यम परिवर्तन हुन्छ, तर विश्वसनीय सामग्रीको आवश्यकता कहिल्यै समाप्त हुँदैन । छापा माध्यमले गहिरो विश्लेषण, विस्तृत सामग्री र अभिलेखीय महत्वका सामग्री प्रस्तुत गर्ने क्षमता राख्छ । डिजिटल र छापा माध्यमबीच प्रतिस्पर्धाभन्दा पनि सहकार्यको सम्भावना बढी छ । एउटै समाचारलाई फरक माध्यमको प्रकृतिअनुसार प्रस्तुत गर्न सकिन्छ । मुख्य कुरा सामग्रीको गुणस्तर र विश्वसनीयता हो ।
पत्रकारितामा नयाँ पुस्ता प्रवेश गरिरहेको छ । उनीहरूलाई तपाईंको सुझाव के छ ?
पत्रकारिता सजिलो पेशा होइन । सामाजिक सञ्जालमा देखिने छोटो सामग्री र वास्तविक पत्रकारिताबीचको अन्तर बुझ्नुपर्छ । नयाँ पुस्ताले प्रविधिसँगै पत्रकारिताको आधारभूत मूल्य पनि सिक्नुपर्छ । तथ्य जाँच गर्ने बानी, स्रोतको विश्वसनीयता, भाषाको शुद्धता, विषयको गहिरो अध्ययन र सामाजिक उत्तरदायित्व पत्रकारिताका आधारभूत पक्ष हुन् । छिटो समाचार दिने होडमा तथ्यलाई सम्झौता गर्नु हुँदैन । पत्रकारितामा विश्वास कमाउन समय लाग्छ, तर गुमाउन धेरै समय लाग्दैन ।
तपाईं विभिन्न कार्यक्रमका निर्णायकका रूपमा पनि सहभागी हुनुभएको छ । त्यस्तो भूमिका कत्तिको चुनौतीपूर्ण हुन्छ ?
निर्णायकको भूमिका आफैंमा जिम्मेवार भूमिका हो । कुनै व्यक्ति वा सिर्जनाको मूल्यांकन गर्दा व्यक्तिगत रुचिभन्दा निर्धारित मापदण्डलाई आधार बनाउनुपर्छ । विभिन्न कार्यक्रमका निर्णायकका रूपमा काम गर्दा फरक–फरक प्रतिभालाई नजिकबाट बुझ्ने अवसर पाए । नयाँ पुस्तामा धेरै सम्भावना देखिन्छ । उनीहरूलाई सही अवसर र मार्गदर्शन आवश्यक छ ।
हालै प्राप्त पत्रकारिता अवार्डले तपाईंको आगामी यात्रामा कस्तो प्रभाव पार्नेछ ?
अवार्डले उत्साह बढाएको छ । साथै थप जिम्मेवारी पनि थपेको महसुस गरेको छु । सम्मान पाएपछि अब अझ राम्रो काम गर्नुपर्छ भन्ने दबाब पनि हुन्छ । आगामी दिनमा पत्रकारितालाई अझ गम्भीरतापूर्वक निरन्तरता दिनेछु । त्यससँगै सामाजिक, सांस्कृतिक र सिर्जनात्मक विषयमा गरिरहेका कामलाई पनि अगाडि बढाउने योजना छ । मेरो विचारमा सम्मान भनेको विगतको कामको मूल्यांकन मात्र होइन, आगामी कामका लागि प्रेरणा पनि हो ।
तपाईंको आगामी प्राथमिकता के–के छन् ?
पत्रकारिता मेरो मूल कर्म हो र यसलाई निरन्तरता दिनेछु । त्यससँगै गीतसंगीत तथा वृत्तचित्र निर्माणका क्षेत्रमा पनि काम गर्ने योजना छ । विशेषगरी समाजका कम चर्चा भएका विषय, समुदायका संस्कृति तथा परम्परा र बालबालिकासँग सम्बन्धित विषयलाई दस्तावेजीकरण गर्ने रुचि छ । परेवासम्बन्धी पुस्तक प्रकाशनको काम पनि अगाडि बढिरहेको छ ।
अहिलेसम्म पाएको अनुभव र सम्मानलाई आधार बनाएर आगामी दिनमा अझ अर्थपूर्ण काम गर्ने प्रयास रहनेछ । पत्रकारिताले समाजप्रति जिम्मेवार हुन सिकाएको छ । त्यसैले आगामी यात्रा पनि त्यही जिम्मेवारीबोधका साथ अघि बढाउने मेरो सोच छ ।
प्रतिक्रिया दिनुहोस्