काठमाडौँ, १८ असोज । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटनाको प्रत्यक्ष असर चालकमा मात्र सीमित नहुने बताउँदै सवारी सञ्चालनमा जिम्मेवारी र सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार आयोजना गरेको ‘सुरक्षित समाज, सुदृढ समाजः डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ विषयक छलफलमा उहाँले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो । चालकको एउटा लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्न सक्ने उहाँको भनाइ छ ।
सडक सुरक्षाका विषयमा भारतका जानकार वेङ्कटेश वालासूत्रपणीयनले पनि चालक सचेत र जिम्मेवार भए सडक दुर्घटना घटाउन सहयोग पुग्ने बताउनुभएको थियो । उहाँले सडकमा सवारी चलाउने व्यक्तिको व्यवहार दुर्घटना रोकथामको महत्वपूर्ण पक्ष हुने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभएको थियो । सडक प्रयोगकर्तालाई सुरक्षित यातायात व्यवहारबारे जानकारी गराउने तथा ट्राफिक नियम पालनाका लागि सचेत गराउने गतिविधि सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको जिम्मेवार व्यवहारसँगै ट्राफिक प्रहरीको प्रभावकारी भूमिका र आम सडक प्रयोगकर्ताको सचेतना आवश्यक रहेको सरोकारवालाले बताएका छन ।
छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका प्रहरी अधिकृत तथा सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रममा सडक सुरक्षाका लागि तथ्यमा आधारित अभ्यास, दुर्घटना न्यूनीकरणका उपाय तथा सरोकारवाला निकायको भूमिकाबारे अनुभव आदानप्रदान गरिएको थियो ।
यसैबीच, सडक सुरक्षासम्बन्धी छलफल भइरहेका बेला पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा शनिबार भएको यात्रुवाहक बस दुर्घटनामा छ जनाको मृत्यु भएपछि सडक सुरक्षाको विषय फेरि गम्भीर रूपमा उठेको छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्रमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबै छ जनाको सनाखत भएको छ ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।
बसमा १८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालकसहित छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया हुनुहुन्छ ।
त्यसैगरी जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १२ जनालाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा उपचारपछि थप विशेषज्ञ उपचार आवश्यक देखिएका आठ जनालाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।
मध्यविन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार बाँकी चार जना घाइतेलाई अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । उनीहरूको उपचार चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार घाइतेमध्ये थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनापछि उद्धार, प्रारम्भिक उपचार र थप उपचारका लागि बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया अघि बढाइएको हो ।
दाउन्ने दुर्घटनाले राजमार्गमा यात्राको जोखिम र सडक सुरक्षाका लागि निरन्तर सावधानीको आवश्यकता पुनः देखाएको छ । दुर्घटनापछि हुने उद्धार र उपचार महत्त्वपूर्ण भए पनि जोखिम घटाउन दुर्घटना हुनुअघि नै अपनाइने सावधानी अझ महत्वपूर्ण हुने सरोकारवालाको जोड छ ।
सडक सुरक्षालाई प्रभावकारी बनाउन चालकलाई जिम्मेवार बनाउने, ट्राफिक नियमको पालना गराउने, नियमित सचेतना कार्यक्रम सञ्चालन गर्ने र सडक प्रयोगकर्तालाई सुरक्षित व्यवहारका लागि निरन्तर अभिमुखीकरण गर्ने काम समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ । सडकमा हुने जोखिम चालकको मात्र विषय नभएकाले पैदलयात्री, यात्रु, अन्य सवारी चालक, ट्राफिक प्रहरी तथा सम्बन्धित निकाय सबैको जिम्मेवारी जोडिएको हुन्छ ।
दाउन्ने दुर्घटनाबाट भएको मानवीय क्षतिले सडक सुरक्षासम्बन्धी सचेतना र व्यवहारिक सुधारको आवश्यकता झन् प्रस्ट पारेको छ । दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार चालक, प्रभावकारी ट्राफिक व्यवस्थापन र सचेत सडक प्रयोगकर्ताबीचको समन्वयलाई निरन्तरता दिनुपर्नेमा छलफलमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्