‘हाम्रो सानो घर’ निर्माणको घोषणा, दशैपछि छायांकनमा जाने

काठमाडौँ, १२ असोज । नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको प्रेम, सम्बन्ध, सपना र सामाजिक सोचलाई कथाको केन्द्रमा राखेर नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण हुने भएको छ । रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणा गर्दै निर्माण पक्षले मुख्य अभिनेत्रीमा पूर्णिका सिजापतिलाई अनुबन्धित गरिएको जानकारी दिएको हो ।

चलचित्रको कथा, पटकथा तथा निर्देशन सुमन गजमेरले गर्नेछन् । निर्देशक गजमेरका अनुसार ‘हाम्रो सानो घर’ मा समकालीन पुस्ता अर्थात् जेन–जेडको जीवनशैली, उनीहरूको सम्बन्ध, प्रेम, सपना तथा सामाजिक दृष्टिकोणलाई कथानकमा समेटिनेछ । चलचित्रले नयाँ पुस्ताको व्यक्तिगत जीवनसँगै नेपाली समाजमा देखिँदै आएका जातीय तथा वर्गीय विभेदका विषयलाई समेत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

बदलिँदो सामाजिक परिवेशमा नयाँ पुस्ताले सम्बन्ध र जीवनलाई कसरी बुझिरहेको छ भन्ने विषयलाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ । प्रेमकथासँगै सामाजिक संरचना, सोचमा आएको परिवर्तन र युवा पुस्ताका आकांक्षालाई जोडेर चलचित्रको कथा अघि बढाइने जनाइएको छ ।

चलचित्रका लागि अभिनेत्री पूर्णिका सिजापति मुख्य भूमिकामा रहने भएकी छन् । मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी पूर्णिका पछिल्लो समय अभिनयमा समेत सक्रिय छिन् । उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन् । त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छन् ।

मोडलिङ तथा विषयवस्तु निर्माणमा सक्रिय रहँदै आएकी पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग काम गरिसकेकी छन् । पछिल्लो समय उनी चलचित्र क्षेत्रमा पनि देखिन थालेकी हुन् । प्रदर्शनरत चलचित्र ‘आचार्य’मा उनले नेपाली कलाकारसँगै बलिउड तथा दक्षिण भारतीय कलाकारहरूसँग अभिनय गर्ने अवसर पाएकी छन् । ‘हाम्रो सानो घर’मा भने उनले पहिलोपटक मुख्य अभिनेत्रीका रूपमा भूमिका निर्वाह गर्नेछिन् ।

चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा मुख्य पुरुष कलाकारका रूपमा को रहने भन्ने विषयमा भने निर्माण पक्षले अहिले नाम सार्वजनिक गरेको छैन । पुरुष कलाकारको नाम केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।

चलचित्रको छायांकन दशैंपछि सुरु गर्ने तयारी रहेको रहेको छ । छायांकनका लागि आवश्यक पूर्वतयारी तथा कलाकार छनोटको काम अघि बढिरहेको बताइएको छ । निर्माण पक्षले चलचित्रलाई समकालीन नेपाली समाज र नयाँ पुस्ताको जीवनसँग नजिक रहेर तयार गर्ने जनाएको छ ।

‘हाम्रो सानो घर’ निर्देशक सुमन गजमेरको पहिलो फिचर निर्देशकीय चलचित्रसमेत हो । गजमेरले यसअघि विभिन्न नेपाली चलचित्रमा लेखक तथा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् । उनले ‘रंगी’, ‘एक्का तीनः च्याप्टर १’ र ‘शेर्वा’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरेका छन् । त्यस्तै ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा उनले सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् ।

पहिलो फिचर चलचित्रमार्फत निर्देशनमा प्रवेश गर्न लागेका गजमेरले नयाँ पुस्ताको कथा र समकालीन सामाजिक विषयलाई पर्दामा प्रस्तुत गर्ने तयारी गरेका हुन् । निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्