काठमाडौँ, ८ असोज । नेपाली चलचित्रको ठूलो प्रदर्शन समय मानिने दशैंको भीडबाट अलग हुँदै अभिनेता अनमोल केसी अभिनीत ‘बाटुलो जून’ अब तिहारपछि दर्शकमाझ आउने भएको छ । अभिनेता भुवन केसीको निर्देशनमा बनेको चलचित्रलाई निर्माण पक्षले कात्तिक २६ गते प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको हो ।
यसअघि ‘बाटुलो जून’लाई दशैं लक्षित चलचित्रका रूपमा प्रचार गरिएको थियो । तर, दशैंमा एकैपटक धेरै चलचित्र प्रदर्शन हुने भएपछि निर्माण पक्षले प्रदर्शन मिति पछाडि सारेको हो । नयाँ मिति घोषणा गर्दै निर्माण पक्षले हलमा चलचित्रबीच हुने पर्दा बाँडफाँडलाई ध्यानमा राखेर तिहारपछिको समय रोजिएको जनाएको छ ।
दशैंको लामो बिदालाई लक्षित गर्दै यसपटक नेपाली चलचित्रको प्रदर्शन तालिका निकै व्यस्त छ । ‘१२ गाउँ २’, ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ लगायत चलचित्रले दशैं आसपासका मिति रोजेका छन् भने ‘कबड्डी ५’ पनि त्यसै समयको प्रदर्शन तयारीमा छ । यसरी एउटै समयमा धेरै चलचित्र आउने भएपछि हलको उपलब्धता र दर्शक बाँडिने अवस्थालाई ध्यान दिँदै ‘बाटुलो जून’ले आफ्नो प्रदर्शन तालिका परिवर्तन गरेको हो ।
निर्देशक भुवन केसीले चलचित्रहरूबीच अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि मिलेर अघि बढ्नु नेपाली चलचित्र उद्योगका लागि हितकर हुने बताएका छन् । उनका अनुसार दशैंमा अन्य चलचित्रको प्रदर्शन निश्चित भइसकेको अवस्थामा थप चलचित्र आउँदा पर्दा बाँडफाँडमा समस्या हुन सक्ने प्रदर्शक तथा वितरकको सुझावलाई समेत ध्यान दिइएको हो ।
नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको पोस्टरले भने चलचित्रको कथातर्फ दर्शकको ध्यान तानेको छ । पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल भावमा देखिएका छन् । अनमोलको पहिरन तथा हुलियाले पुरानो समयको झल्को दिन्छ भने पृष्ठभूमिमा रहेको लाल्टिन र आकाशको जूनले चलचित्रको ग्रामीण तथा प्रेमप्रधान वातावरणको संकेत गर्छ ।
पोस्टरमा देखिएको दृश्य र शीर्षकले ‘बाटुलो जून’लाई प्रेमकथामा केन्द्रित चलचित्रका रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ । यद्यपि चलचित्रको कथावस्तुबारे निर्माण पक्षले धेरै कुरा सार्वजनिक गरेको छैन । यसले अनमोल र प्रिन्सीको पर्दामा देखिने सम्बन्धलाई लिएर दर्शकमाझ चासो बढाएको छ ।
चलचित्रमा अनमोल र प्रिन्सीसँगै निर्देशकसमेत रहेका भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेयर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय रहेको छ ।
सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रमा ग्रामीण परिवेश, प्रेमसम्बन्ध र पुरानो समयको सौन्दर्यलाई कथाको आधार बनाइएको निर्माण पक्षको सामग्रीबाट देखिन्छ । चलचित्रको दृश्यात्मक पक्षमा पनि यही परिवेशलाई प्राथमिकता दिइएको छ ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह–निर्माताका रूपमा छन् । चलचित्रमा पुरानो पुस्ताका स्थापित अभिनेता भुवन केसीको निर्देशन र नयाँ पुस्ताका लोकप्रिय अभिनेता अनमोल केसीको अभिनय रहेका कारण पनि ‘बाटुलो जून’प्रति चासो देखिएको छ ।
यसअघि भुवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’मा पनि अनमोल केसी मुख्य भूमिकामा थिए । बाबु–छोराको यो सहकार्यका कारण ‘बाटुलो जून’लाई पारिवारिक चलचित्रभन्दा पनि पुस्ताबीचको सिर्जनात्मक सहकार्यका रूपमा समेत हेरिएको छ ।
अब तिहारको मुख्य चाड सकिएपछि कात्तिक २६ गते चलचित्र प्रदर्शनमा आउनेछ । दशैंको भीडबाट अलग भएर नयाँ समय रोजेको ‘बाटुलो जून’ले तिहारपछिको समयमा कस्तो दर्शक प्रतिक्रिया पाउँछ भन्ने विषय भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्