काठमाडौँ, ८ असोज । चितवनको सौराहामा सञ्चालनमा आएको लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्सको मान्यता पाएसँगै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीलाई समेत अघि बढाएको छ । पर्यटन र पुँजी बजार दुवै क्षेत्रमा एकैपटक विस्तारको बाटो समातेको केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित रिसोर्टले अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डलाई स्थानीय पहिचानसँग जोडेर आफ्नो बजार विस्तार गरिरहेको छ ।
पर्यटन विभागको स्थलगत निरीक्षणपछि रोयल टुलिप चितवनलाई पाँचतारे डिलक्सको स्तरीकरण मान्यता दिइएको हो । कम्पनीले करिब तीन साताअघि स्तरीकरणका लागि निवेदन दिएको थियो । त्यसपछि विभागका निर्देशकसहित चार सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा तथा सञ्चालन प्रणालीको निरीक्षण गरेको थियो ।
तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले पाँचतारे डिलक्सको मान्यता दिएको हो । उपलब्ध विवरणअनुसार नेपालमा यस स्तरको मान्यता पाउने होटलको संख्या अब चार पुगेको छ ।
सौराहाको पर्यटन बजारमा आफूलाई फरक ढंगले स्थापित गर्ने प्रयास रिसोर्टको संरचना र सेवामा पनि देखिन्छ । राप्ती नदी नजिकै तथा जनकौली र कुमरोज सामुदायिक वनको आसपास ४.१२ एकड क्षेत्रमा फैलिएको छ । रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याड र रिभोल्भिङ रेस्टुरेन्टलगायत सुविधा रिसोर्टमा छन् । मध्यरातसम्मको मनोरञ्जनलाई लक्षित गरी छुट्टै स्पोट्र्स बारसमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
रोयल टुलिप चितवनको अर्को विशेषता भनेको अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवासँग नेपालीपनलाई जोड्ने प्रयास हो । रिसोर्टमा काठ तथा काठबाट बनेका फर्निचर, ढुंगाका टायल, ढुंगाले छाएका छाना, जुटबाट बनेका गलैँचा, स्थानीय कलाकारले काठमा तयार गरेका चित्र तथा स्थानीय उत्पादनका सजावटका सामग्री प्रयोग गरिएको छ । यसले आधुनिक लक्जरी रिसोर्टभित्र स्थानीय कला, सीप र निर्माण सामग्रीलाई समेट्ने प्रयास गरेको देखिन्छ ।
रिसोर्टको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ । कम्पनीले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ सुरु गरेको थियो भने डिसेम्बरको मध्यदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।
अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धताले सौराहालाई उच्चस्तरीय तथा अन्तर्राष्ट्रिय पर्यटक बजारसँग जोड्ने आधार थप बलियो बनाउने कम्पनीको अपेक्षा छ । केयर रेटिङ नेपालको मूल्यांकनले पनि अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवद्र्धक समूहलाई कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ ।
यसैबीच, केटीएम हस्पिटालिटीले सर्वसाधारणलाई सेयरधनी बनाउने प्रक्रिया पनि अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रस्तावित आईपीओको कुल अंकित मूल्य १५ करोड ५० लाख रुपैयाँ हुनेछ ।
यसअघि कम्पनीको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो । प्रस्तावित आईपीओ कम्पनीको चुक्ता पुँजीको २० प्रतिशत हुने उल्लेख छ ।
आईपीओका लागि गरिएको क्रेडिट मूल्यांकनमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ दिएको छ । कम्पनीले निर्माण गरेको रिसोर्टको कुल परियोजना लागत करिब एक अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको छ । आईपीओपछि कम्पनीको ऋण–स्वपूँजी अनुपात ६१.५ः३८.५ कायम हुने प्रक्षेपण गरिएको छ ।
केटीएम हस्पिटालिटी सन् २०२० मा स्थापना भएको हो भने २०८१ असारमा निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन् ।
रोयल टुलिप चितवनको पाँचतारे डिलक्स मान्यता र आईपीओ प्रक्रिया सौराहाको पर्यटन उद्योगका लागि पनि चासोको विषय बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन क्षेत्रसँग जोडिएको सौराहा वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य भएकाले यहाँ थप उच्चस्तरीय होटल तथा रिसोर्टको विस्तारले पर्यटन सेवाको दायरा फराकिलो पार्न सक्ने अपेक्षा छ ।
यसरी एउटा लक्जरी रिसोर्टको स्तरीकरणसँगै कम्पनीले पुँजी बजारमा प्रवेश गर्ने तयारी अघि बढाएको छ । पाँचतारे डिलक्स मान्यताले आतिथ्य व्यवसायमा आफ्नो स्तर स्थापित गरेको रोयल टुलिप चितवन अब प्रस्तावित आईपीओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्